सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले २२ वर्षमा नगरेको काम वर्तमान सरकारले दुई वर्षमै गरिएको दाबी गरेका छन्।
शनिबार काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
कार्यक्रममा उनले वर्तमान सरकारको पहिलो आधार वर्ष, दोस्रो शिलान्यास र तेस्रो र आउँदा वर्ष उद्घाटनको वर्ष हुँदै जाने बताए।
'अब तीन वर्षमा नेपाली मनको आत्मविश्वास जाग्ने गरी पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, कृषिमा काम हुनेछ', उनले भने।
त्यसैगरी कार्यक्रममा उनले सरकारले आउँदो दुई वर्षमा वृद्धभत्ता पाँच हजार पुर्याइने जानकारी समेत दिए।
मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीको दृढता र विश्वासका साथ नीति कार्यक्रम, बजेट, अन्तरराष्ट्रिय सम्बन्धले राष्ट्रिय आत्मविश्वासको जागरण पैदा भएकाले जनताले राम्रो कामलाई राम्रो र नराम्रोलाई खबरदारी गर्न आग्रह गरे।
उनले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन्।
'नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ', उनले भने।
पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर नसोच्न पर्यटन व्यवसायीलाई आग्रह गरे।
उनले पर्यटनको विषेशताको रूपमा नेपालसँग हिमाल, महाभारत खण्ड, उपत्यका तथा भौगोलिक हिसाबले शेर्पा, तामाङ, बाहुन–क्षेत्री, चौधरी, धिमाल, मेचे, कोचे, अनेकौँ संस्कृति, जाति पहिरन रहेकाले आफ्ना पहिचानलाई पर्यटनको माध्यमले उत्पादनसँग जोड्नुपर्ने जोड दिए।
कार्यक्रममा मन्त्री बाँस्कोटाले नेपालको सयमध्ये काभ्रेपलाञ्चोकमा १९ किलोमिटर महाभारतमा ट्रेकिङ ट्रेल बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै नाला–धुलिखेल–नमोबुद्ध–कोटतिमाल–तङसोमकुण्डसम्म बुद्ध परिपथ निर्माण गर्ने योजना बनाइएको बताए।
यस्तै मन्त्री बाँस्कोटाले नमोबुद्ध नपाको दुई र पाँचखाल नपाको तीन वडास्थित १२ हजार रोपनी जमीनमा मदन भण्डारी विश्वविद्यालय निर्माण गरिने, अरनिको राजमार्ग स्तरोन्नति हुने तथा मध्यपहाडी लोकमार्ग यसवर्ष ३९५ किलोमिटर पक्की हुने जानकारी दिए।
'सुनकोशी नदीबाट ५३६ मेगावाट बिजुली पनि निकाल्छौँ, हामी काम गर्दैछौँ, विकासको परिणाम आम जनताका हातमा पुर्याउँछौँ', उनले भने।
सो अवसरमा मन्त्री बाँस्कोटाले म्याराथुनमा प्रथम शिवबहादुर रायमाझी, द्वितीय हिमाल कार्की र तृतीय कस राईलाई क्रमशः रु ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।
एक्काइस किलोमिटर लामो दूरीको म्याथुनमा २७ जना सहभागी थिए।