भारतमा नरेन्द्र मोदी सरकारले केही दिनअघि ल्याएको नागरिकता कानुनको विरोधमा आसामपछि राजधानी नयाँदिल्लीमा चर्को विरोध सुरू भएको छ।
दिल्लीको जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयका विद्यार्थीहरू नागरिकता कानुनको विरोधमा लगातार प्रदर्शन गरिरहेका छन्। यसै क्रममा आइतबार भएको प्रदर्शन क्रममा तीनवटा बसमा आगलागी भएको थियो। आगो निभाउन गएको दमकल पनि प्रदर्शनकारीले तोडफोड गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उक्त घटनापछि प्रहरीले आइतबार राति पूरै विश्वविद्यालय परिसर घेराबन्दी गरेको विद्यार्थीहरूले बताएका छन्। विश्वविद्यालयका अधिकारीले प्रहरी बिनाअनुमति विश्वविद्यालय छिरेर त्यहाँका कर्मचारी र विद्यार्थीलाई कुटेको जानकारी दिए।
प्रहरीले लगभग सय जना विद्यार्थीलाई हात माथि उठाएर बाहिर निकालेको थियो। विद्यार्थीहरूका अनुसार उनीहरूलाई जबरजस्ती प्रहरीले पुस्तकालयबाट बाहिर निकालेको हो। पुस्तकालयभित्रै अश्रुग्यास प्रहार गरिएका भिडिओ फुटेजहरू पनि सार्वजनिक भएको छ।
यो घटनामा थुप्रै विद्यार्थी घाइते भएको र थुप्रै पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्। यसको विरोधमा राति नै विद्यार्थीहरूले दिल्लीको प्रहरी मुख्यालय अगाडि गएर प्रदर्शन गरे।
जामियाका उपकुलपति नजमा अख्तरका अनुसार विश्वविद्यालयको पुस्तकालयभित्र बसेका विद्यार्थीलाई बाहिर निकालिएको छ। घटनास्थलमा रहेका पत्रकारहरूका अनुसार प्रहरीले विद्यार्थीहरूको मोबाइल खोसेर तोडफोड र दुर्व्यवहार गरेका छन्।
उता दक्षिण-पूर्व दिल्लीका डिसिपी चिन्मय बिस्वालल भने प्रदर्शनकारीको भिड आक्रामक भएकाले स्थिति नियन्त्रण गर्न भिड तितर-बितर गरेको बताएका छन्। प्रदर्शनकारीले प्रहरीहरूमाथि ढुंगा हानेको र छ जना प्रहरी घाइते भएको उनले बताएका छन्।
'जामियाका विद्यार्थीहरूसँग हामीलाई कुनै समस्या छैन। तर क्याम्पसभित्रबाट पनि हामीमाथि ढुंगा प्रहार भएको थियो,' उनका भनाइ उद्दृत गर्दै बिबिसीले लेखेको छ, 'हामी विश्वविद्यालयको प्रशासनसँग ती विद्यार्थीको पहिचानका लागि अनुरोध गर्नेछौं।'
उग्र भिडले चार बस र प्रहरीका दुई सवारीमा आगजनी गरेकाले अश्रुग्यास प्रहार गर्न परेको उनले बताएका छन्। दिल्ली प्रहरीले अहिले जामिया विश्वविद्यालय र यो क्षेत्रको स्थिति नियन्त्रणमा आएको पनि बताएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदर्शनकारीलाई शान्तिपूर्वक प्रदर्शन गर्न अपिल गरेका छन्। उनले कुनै पनि किसिमको हिंसा स्वीकार नभएको बताएका छन्। प्रहरीको कारवाहीपछि जामियाका विद्यार्थीले दिल्ली प्रहरी मुख्यालयबाहिर प्रदर्शन गरिरहेका छन्।
एक प्रत्यक्षदर्शीका अनुसार जामिया विश्वविद्यालयका विद्यार्थीले नागरिकता कानुनको विरोधमा प्रदर्शन निकालेका थिए। यसमा विद्यार्थीहरूको भिडमा स्थानीय र आसपासका मान्छेहरू पनि सहभागी थिए। प्रदर्शन शान्तिपूर्वक चलिरहेको थियो। तर प्रदर्शनकारी अगाडि बढेपछि प्रहरीले उनीहरूलाई रोक्न खोज्यो। प्रहरीले रोकेपछि केही विद्यार्थी भुइँमै बसे। यसरी बस्नेमा जामियाका पूर्वविद्यार्थी पनि थिए। प्रहरीको रोकावटका बाबजुद भिडको एक हिस्सा अर्को बाटोबाट निस्कियो र उनीहरूले बाटो जाम गरे।
प्रहरीले सडक खाली गराउन त्यहाँ लाठीचार्ज गर्यो र अश्रुग्यास छाड्यो। योक्रममा केही महिला घाइते भए। प्रहरीको हमलापछि भिडले ढुंगामुढा गर्न थाल्यो र नाराबाजी भयो। यसपछि दुई पक्षबीच मुडभेठ बढेको थियो।
जामियाका विद्यार्थीले दुई दिनअघि पनि प्रदर्शन गर्ने तयारी गरेको थियो। तर प्रहरीले उनीहरूलाई रोकेको थियो। त्यो बेला पनि झडपमा केही विद्यार्थी घाइते भएका थिए। दुई-तीन दिनयता प्रहरीले यो क्षेत्रमा प्रदर्शनी नहोस् भनेर नाकाबन्दी गरेको छ।
नागरिकता कानुनको विरोधमा आसाम र गुवाहाटीमा पनि प्रदर्शन भइरहेको छ। प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा थुप्रै मान्छे घाइते भइसकेका छन्।