भारतमा नरेन्द्र मोदी सरकारले हालै ल्याएको नागरिकता कानुनको विरोधमा आसाम राज्यबाट सुरू भएको प्रदर्शनले राजधानी नयाँदिल्ली आइपुग्दा उग्र रूप लिएको छ।
विरोध प्रदर्शन क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कयाैं घाइते भएका छन्। बस र अन्य सवारीसाधन जलाइएको छ।
किन भइरहेको छ त विरोध?
भारतीय संसदबाट बहुमतले पारित नागरिकता कानुनमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानबाट अवैध रूपमा आएका अल्पसंख्यक समुदायहरू- हिन्दू, बौद्ध, जैन, पारसी, ईसाई र शिख धर्मका शरणार्थीहरूलाई नागरिकता दिने भनिएको छ।
साविकमा कुनै पनि व्यक्तिले भारतीय नागरिकता पाउन कम्तिमा ११ वर्ष भारतमा बसेको हुनुपर्ने प्रावधान थियो। नयाँ कानुनले यी तीन देशका अल्पसंख्यकका लागि यो अवधि छ वर्षमा झारेको छ।
साविकमा अवैध तरिकाबाट आएकाहरूलाई नागरिकता दिइँदैन थियो। यसरी आएकालाई उनीहरूकै देश फर्काउने वा हिरासतमा राख्ने गरिन्थ्यो। अब त्यस्ता व्यक्तिले पनि नागरिकता लिन सक्ने छन्।
यही कानुनअनुसार पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट आएका मुसलमानहरूले भने नागरिकता पाउँदैनन्।
यसरी गैरमुस्लिमलाई मात्र समावेश गरेर नागरिकता पाउने भनेपछि भारतका धेरै राज्यमा चर्को विरोध सुरू भएको हो। मुख्य रूपमा छ जातिका अवैध प्रवासीलाई फाइदा हुने यो कानुन 'मुसलमानविरोधी' भएको विपक्षीहरूले बताएका छन्। मोदी सरकारले मुसलमानलाई अलग्याएर अरू जातकालाई सहजै नागरिकता दिन खोज्नु धार्मिक चलखेल भएको उनीहरूले बताएका छन्।
कांग्रेस नेता गौर गोगोईले यसलाई भारतीय जनता पाटीको विभाजनकारी नीतिका रूपमा टिप्पणी गरे। यसले उत्तरपूर्वलाई बाँड्ने उनले बताए।तर, यो विषय उत्तरपूर्वको मात्र रहेन। राजधानी दिल्ली, मुम्बई, औरंगाबाद, केरल, पञ्जाब, गोवा, मध्यप्रदेश समेत धेरै क्षेत्रमा विरोध प्रदर्शन बढिरहेको छ।
आइतबार राति दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा हंगामा भयो। विश्वविद्यालयका विद्यार्थीहरू नागरिकता कानुनको विरोधमा लगातार प्रदर्शन गरिरहेका छन्। यसै क्रममा आइतबार भएको प्रदर्शन क्रममा तीनवटा बसमा आगलागी भएको थियो। आगो निभाउन गएको दमकल पनि प्रदर्शनकारीले तोडफोड गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उक्त घटनापछि प्रहरीले राति नै पूरै विश्वविद्यालय परिसर घेराबन्दी गरेको विद्यार्थीहरूले बताए। विश्वविद्यालयका अधिकारीले प्रहरी बिनाअनुमति विश्वविद्यालय छिरेर त्यहाँका कर्मचारी र विद्यार्थीलाई कुटेको जानकारी दिए।
प्रहरीले लगभग सय जना विद्यार्थीलाई हात माथि उठाएर बाहिर निकालेको थियो। विद्यार्थीहरूका अनुसार उनीहरूलाई जबर्जस्ती प्रहरीले पुस्तकालयबाट बाहिर निकालेको हो। पुस्तकालयभित्रै अश्रुग्यास प्रहार गरिएका भिडिओ फुटेजहरू पनि सार्वजनिक भएको छ।
जामियाका उपकुलपति नजमा अख्तरका अनुसार विश्वविद्यालयको पुस्तकालयभित्र बसेका विद्यार्थीलाई बाहिर निकालिएको छ। घटनास्थलमा रहेका पत्रकारहरूका अनुसार प्रहरीले विद्यार्थीहरूको मोबाइल खोसेर तोडफोड र दुर्व्यवहार गरेका छन्।
उत्तर प्रदेशको अलिगढ मुस्लिम विश्वविद्यालयमा पनि विरोध चर्किन थालेपछि विश्वविद्यालय खाली गराइएको छ। सबै विद्यार्थीलाई उनीहरूको घर पठाइएको छ। विश्वविद्यालय ५ जनवरीसम्म बन्द छ। विरोधमा संलग्न १५ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।उनीहरूलाई कारबाही गरिने प्रहरीले बताएको छ।
उता आसाममा सबभन्दा ठूलो विरोध भइरहेको छ। प्रहरीको गोलीबाट यहाँ चार जनाको मृत्यु भइसकेको छ। राज्यका धेरै ठाउँमा मोबाइल, इन्टरनेट बन्द गरिएको छ।
लखनउमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। पश्चिम बंगालमा र्यालीका साथै केही ठाउँमा आगजनी र तोडफोड भइरहेको छ। तमिलनाडु, हैदराबाद, पटना र केरलमा पनि विरोध चर्किरहेको छ। यी ठाउँमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेका छन्।