नागरिकता कानुनविरुद्ध भारतको राजधानी नयाँदिल्ली जलिरहँदा आइतबार साँझ एउटा भिडिओ भाइरल भयो।
उक्त भिडिओमा एक जना व्यक्ति सडकमा लडेका देखिन्छन्। दिल्ली प्रहरीले उनीमाथि निर्घात कुटपिट गरेका छन्। उनलाई प्रहरीको कुटाइ खानबाट जोगाउँदै छन्, पाँच जना महिला।
भिडिओको सुरूमा प्रहरीहरू ती व्यक्तिलाई घरको कम्पाउन्डबाट बाहिर आउन भन्छन्। महिलाहरू ती प्रहरीमाथि चिच्याउँछन् र त्यहाँबाट धपाउँछन्।
जसै प्रहरीले ती व्यक्तिलाई तानेर बाहिर सडकमा ल्याउँछ र लठ्ठीले निर्घात कुट्न थाल्छ, ती पाँचै जना महिला उनको बचाउमा अघि सर्छन्। उनलाई चारैतिरबाट घेरेर थप कुटाइ खानबाट जोगाउँछन्।
पाँच जना साहसी महिलाको यस्तो प्रतिकार र त्यसमाथि प्रेस फोटोग्राफरहरूको उपस्थितिले दिल्ली प्रहरी पछि हट्न बाध्य हुन्छ।
यो भिडिओ सार्वजनिक भएपछि दिल्लीमा ती महिलाको साहसलाई सबैले तारिफ गरिरहेका छन्। ‘हामी राज्य र सम्बन्धित निकायलाई चुनौती दिइरहेका थियौं,’ पाँच महिलामध्ये अख्तरिस्त अन्सारीले स्क्रोल डटइनसँग भनेकी छन्।
‘मैले जे गरेँ, त्यसमा मलाई गर्व छ,’ जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा समाजशास्त्र पढ्दै गरेकी १९ वर्षीया अन्सारीले भनिन्, ‘यो प्रदर्शन जारी रहनेछ, किनभने यो दुई दिनको लडाइँ होइन।’
अन्सारी सन् २०१४ मा झारखण्डको देवगढबाट जामिया मिलियामा ११ कक्षा पढ्न दिल्ली आएकी हुन्।
उनीसँगै भिडिओमा देखिएकी २० वर्षीया चन्दा देवी उत्तरप्रदेशको चन्डोलीबाट आएकी छात्रा हुन्। उनी सन् २०१७ मा दिल्ली आएकी थिइन्। उनी हिन्दी साहित्य पढ्दै छिन्।
त्यस्तै, इस्लामिक अध्ययनकी २२ वर्षीया छात्रा लदीदा फरजान गत वर्ष मात्र केरलाको कन्नूरबाट दिल्ली आएकी हुन्। स्नातकोत्तरकी छात्रा आयशा रेना र तशनीम पनि केरलाकै हुन्।
अन्सारी र देवीले जामिया विश्वविद्यालयमा गत साता नागरिकता कानुनविरुद्ध प्रदर्शनको नेतृत्व गरेका थिए। ‘त्यो प्रदर्शन पुरानो महिला छात्रावासबाट नयाँ छात्रावाससम्मको पदयात्रा थियो,’ अन्सारीले भनिन्।
त्यही पदयात्राको एउटा तस्बिरमा देवी, रेना र फरजाना प्रहरीविरुद्ध चुनौतीपूर्ण ढंगले उभिएका देखिन्छन्।
अन्सारीका अनुसार आइतबार साँझ साढे ५ बजेतिर दक्षिणी दिल्लीको माता मन्दिर मार्गमा प्रहरीसँग झडप भएको थियो। प्रहरीले लाठीचार्ज गरेपछि उनीहरू त्यहीँको न्यू फ्रेन्ड्स कोलोनी छिरेका थिए।
‘त्यहाँको ढोका खुल्लै थियो, हामी प्रहरीबाट बच्न त्यहाँ छिर्यौं,’ चन्दा देवीले भनिन्।
अन्सारीले प्रहरीको कुटाइ खाएका व्यक्ति पहिचान गरेकी छन्। उनको नाउँ शाहिन अब्दुल्लाह हो। अब्दुल्लाह जामिया मिलियामै आमसञ्चार पढ्छन्। उनीसँग प्रेस कार्ड पनि छ। उनले प्रहरीलाई प्रेसकार्ड देखाउँदा देखाउँदै अन्धाधुन्ध कुटपिट गरिएको अन्सारी र देवीले बताए।
‘उनलाई कुट्नुपर्ने कुनै कारण थिएन,’ देवीले भनिन्, ‘प्रहरीहरू ‘यसलाई तानेर बाहिर निकाल’ भन्दै लठ्ठी हिर्काइरहेका थिए।’
अन्सारीका अनुसार उनीहरूले बिनाकारण निर्दोष विद्यार्थीलाई कुटपिट नगर्न प्रहरीसँग बारम्बार आग्रह गरे। प्रहरीले उनीहरूको कुरा सुनेनन्। उल्टै आफूहरूमाथि गालीगलौच गरेको अन्सारीले बताइन्।
यो झडपमा देवी पनि घाइते भएकी छन्। अब्दुल्लाहलाई बचाउन खोज्दा प्रहरीले उनको दायाँ खुट्टामा लठ्ठी हानेको थियो।
‘कुटाइ खानुपरे पनि मलाई डर छैन,’ उनले भनिन्, ‘यो देश हिन्दुहरूको मात्र होइन। यहाँ सबै समान छन्। यो नागरिकता कानुन गलत छ।’
भारतमा नरेन्द्र मोदी सरकारले हालै ल्याएको नागरिकता कानुनको विरोधमा आसाम राज्यबाट सुरू प्रदर्शनले राजधानी नयाँदिल्ली आइपुग्दा उग्र रूप लिएको छ। प्रदर्शन क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कयाैं घाइते भएका छन्। बस र अन्य सवारीसाधन जलाइएको छ।
भारतीय संसदबाट बहुमतले पारित नागरिकता कानुनमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानबाट अवैध रूपमा आएका हिन्दु, बौद्ध, जैन, पारसी, ईसाई र शिख धर्मका शरणार्थीलाई नागरिकता दिने भनिएको छ।
साविकमा कुनै पनि व्यक्तिले भारतीय नागरिकता पाउन कम्तिमा ११ वर्ष भारत बसेको हुनुपर्ने प्रावधान थियो। नयाँ कानुनले यी तीन देशका अल्पसंख्यकका लागि यो अवधि छ वर्षमा झारेको छ।
साविकमा अवैध तरिकाबाट आएकाहरूलाई नागरिकता दिइँदैन थियो। यसरी आएकालाई उनीहरूकै देश फर्काउने वा हिरासतमा राख्ने गरिन्थ्यो। अब त्यस्ता व्यक्तिले पनि नागरिकता लिन सक्ने छन्।
यही कानुनअनुसार पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट आएका मुसलमानहरूले भने नागरिकता पाउँदैनन्।
गैरमुस्लिमलाई मात्र समावेश गरेर नागरिकता पाउने भनेपछि भारतका धेरै राज्यमा चर्को विरोध सुरू भएको हो। मुख्य रूपमा छ जातिका अवैध प्रवासीलाई फाइदा हुने यो कानुन 'मुसलमानविरोधी' भएको विपक्षीहरूले बताएका छन्।
मोदी सरकारले मुसलमानलाई अलग्याएर अरू जातकालाई सहजै नागरिकता दिन खोज्नु धार्मिक चलखेल भएको उनीहरूको भनाइ छ।
दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयका विद्यार्थीले नागरिकता कानुनको विरोधमा लगातार प्रदर्शन गरिरहेका छन्। यसै क्रममा आइतबारको घटनापछि प्रहरीले राति नै पूरै विश्वविद्यालय परिसर घेराबन्दी गरेको विद्यार्थीहरूले बताए। विश्वविद्यालयका अधिकारीले प्रहरी बिनाअनुमति विश्वविद्यालय छिरेर त्यहाँका कर्मचारी र विद्यार्थीलाई कुटेको जानकारी दिए।
प्रहरीले लगभग सय जना विद्यार्थीलाई हात माथि उठाएर बाहिर निकालेको थियो। विद्यार्थीहरूका अनुसार उनीहरूलाई जबर्जस्ती प्रहरीले पुस्तकालयबाट बाहिर निकालेको हो। पुस्तकालयभित्रै अश्रुग्यास प्रहार गरिएका भिडिओ फुटेजहरू सार्वजनिक भएका छन्।
उत्तर प्रदेशको अलिगढ मुस्लिम विश्वविद्यालयमा पनि विरोध चर्किन थालेपछि सबै विद्यार्थीलाई उनीहरूको घर पठाइएको छ।
आसाममा सबभन्दा ठूलो विरोध भइरहेको छ। प्रहरीको गोलीबाट यहाँ चार जनाको मृत्यु भइसकेको छ। राज्यका धेरै ठाउँमा मोबाइल, इन्टरनेट बन्द गरिएको छ। लखनउमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। पश्चिम बंगालमा र्यालीका साथै केही ठाउँमा आगजनी र तोडफोड भइरहेको छ।
तमिलनाडु, हैदराबाद, पटना र केरलमा पनि विरोध चर्किरहेको छ। यी ठाउँमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेका छन्।