नयाँदिल्लीको जामिया मिलिया इस्लामिया लगायत अन्य विश्वविद्यालयहरूमा भएको प्रहरी धरपकडविरुद्ध भारतमा देशव्यापी रूपले सुरू नागरिक प्रदर्शनमा कंग्रेस पार्टीका महासचिव प्रियंका गान्धी बद्राले ऐक्यबद्धता जनाएकी छन्।
उनले सोमबार साँझ दिल्लीको इन्डिया गेटमा आयोजित कार्यक्रममा सहभागी भएर विद्यार्थीमाथि प्रहरी धरपकडको विरोध गरेकी हुन्।
‘यो हाम्रो राष्ट्रको आत्मामाथि हमला हो। युवा भनेका राष्ट्रका आत्मा हुन्, कुनै पनि विषयमा विरोध प्रदर्शन गर्नु उनीहरूको अधिकारको कुरा हो,’ बद्राले भारतीय न्यूज च्यानल एनडिटिभीसँग भनेकी छन्, ‘नागरिक कानुन असंवैधानिक छ। हरेक भारतीयले यसको विरोध गर्नुपर्छ।’
जामिया इस्लामिया र अलिगढ मुस्लिम विश्वविद्यालयमा आइतबार गरिएको धरपडकबारे प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रूपमा बोल्नुपर्ने बद्राले बताइन्। महिलाहरूको सुरक्षा, बेरोजगारी र खस्कँदो आर्थिक वृद्धिदरको मुद्दा पनि सरकारले सम्बोधन गर्नुपर्नेमा उनले जोड दिइन्।
भारतमा नरेन्द्र मोदी सरकारले हालै ल्याएको नागरिकता कानुनको विरोधमा आसाम राज्यबाट सुरू प्रदर्शनले राजधानी नयाँदिल्ली आइपुग्दा उग्र रूप लिएको छ।
गैरमुस्लिमलाई मात्र समावेश गरेर नागरिकता पाउने भनेपछि भारतका धेरै राज्यमा चर्को विरोध सुरू भएको हो। मुख्य रूपमा छ जातिका अवैध प्रवासीलाई फाइदा हुने यो कानुन 'मुसलमानविरोधी' भएको विपक्षीहरूले बताएका छन्। मोदी सरकारले मुसलमानलाई अलग्याएर अरू जातकालाई सहजै नागरिकता दिन खोज्नु धार्मिक चलखेल भएको उनीहरूको भनाइ छ।
दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा भएको प्रदर्शन क्रममा आइतबार प्रहरीले बिनाअनुमति विश्वविद्यालय छिरेर त्यहाँका कर्मचारी र विद्यार्थीलाई कुटेका थिए। प्रहरीले लगभग सय जना विद्यार्थीलाई हात माथि उठाएर बाहिर निकालेको थियो। विद्यार्थीहरूका अनुसार उनीहरूलाई जबर्जस्ती प्रहरीले पुस्तकालयबाट बाहिर निकालेको हो। पुस्तकालयभित्रै अश्रुग्यास प्रहार गरिएका भिडिओ फुटेजहरू सार्वजनिक भएका छन्।
उत्तर प्रदेशको अलिगढ मुस्लिम विश्वविद्यालयमा पनि विरोध चर्किन थालेपछि सबै विद्यार्थीलाई उनीहरूको घर पठाइएको छ।