कन्हैया कुमारको नाम आउनेबित्तिकै उनले घन्काउने ‘आजादी’ नाराको सम्झना आउँछ।
दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयको विद्यार्थी राजनीतिबाट उदाएका कन्हैयाले ‘हम लेके रहेंगे’ आजादी नारालाई भारतभरि लोकप्रिय बनाए।
उनले यही नारा बिहारको पूर्णियामा सोमबार आयोजित दसौं हजारको प्रदर्शनमा फेरि घन्काएका छन्। नागरिकता कानुनको विरोध र जामिया इस्लामिया विश्वविद्यालयमा भएको प्रहरी धरपकडविरुद्ध ऐक्यबद्धता जनाउन उक्त प्रदर्शनी आयोजना भएको थियो। जसमा कन्हैया मञ्चमा उभिएर ‘गान्धीवाली’, ‘बिस्मिलवाली’ ‘भगत सिंहवाली’ भन्थे, जवाफमा दसौं हजारको भिड ‘आजादी’ भन्दै नारा लगाउँथे।
कन्हैयाको परिचयसँग जोडिएको यो नाराको सुरूआत भने कसरी भयो?
धेरैलाई लाग्छ, यो कश्मिर पृथकतवादीहरूले लगाउने नारा हो। तर, यो सही होइन।
‘आजादी’ नाराको उद्गम महिला मुक्ति आन्दोलनसँग जोडिन्छ। पितृसत्ताको विरोधमा लामो समयदेखि आवाज उठाउँदै आएकी भारतकी महिला अधिकारकर्मी कमला भासिनले सबभन्दा पहिला ‘आजादी’ नारा घन्काएको हिन्दुस्तान टाइम्सले लेखेको छ।
उनी यही नारा लगाउँदै दक्षिण एसियाका विभिन्न देशमा महिला मुक्ति कार्यक्रम सञ्चालन गर्थिन्।
यसको पुरानो सम्झना सन् १९९१ को एउटा कार्यक्रमसँग जोडिन्छ। कलकत्ताको जादवपुर विश्वविद्यालयमा आयोजित महिला अध्ययन सम्मेलनमा प्रखर वक्ता भासिनले ड्रम बजाउँदै ‘आजादी’ नारा लगाएकी थिइन्। सम्मेलनमा सहभागी महिलाहरू हावामा दुई हात लहराउँदै उनको नारा दोहोर्याउँथे।
कमला भासिनकै कारण नब्बे दशकभरि यो नारा महिला मुक्तिसँग जोडियो। त्यति बेला हुर्केका पुस्तालाई अहिले पनि यसले महिला मुक्ति आन्दोलनकै सम्झना गराउँछ।
यसका शब्दहरू पनि भासिनले नै रचेकी हुन्, जसमा ‘मेरी बहनें मागे आजादी’, ‘मेरी बच्ची मागे आजादी’, ‘नारीका नारा आजादी’ थियो।
महिला हिंसा अन्त्य गर्ने विश्वव्यापी अभियान ‘भी–डे’ ले आयोजना गरेको उक्त कार्यक्रममा भासिनले पहिलोपटक सुनाएको ‘आजादी’ कविता वा नारा युट्युबमा उपलब्ध छ।
उनले यही कविता नयाँदिल्लीको कनाटप्लेसमा आयोजित कार्यक्रममा पनि सुनाएकी थिइन्। त्यसपछि यो महिला आन्दोलन झल्काउने ‘थिम सङ’ बनेको थियो।
कमला भासिनले पहिलोपटक यो नारा लगाउँदा उनी चालीस दशकको सुरूआततिर थिइन्। अहिले ७० वर्ष लागिसकिन्। यसको मर्म र भाव भने उत्तिकै ओजिलो छ। महिला मुक्तिबाट सुरू नाराले पछिल्लो समय राजनीतिक तथा सामाजिक विसंगतिविरुद्ध स्वतन्त्रताको वकालत गर्छ।
हिन्दुस्तान टाइम्सले यसै विषयमा कमला भासिनसँग टेलिफोन वार्ता गरेको थियो। उनले पुरानो दिन सम्झँदै भनिन्, ‘पितृसत्ताबाट आजादी, उँचनिचबाट आजादी, हिंसाबाट आजादी, भेदभावबाट आजादी।’
भासिनले यसको उद्गमबारे अर्को रहस्य पनि खोलिन्।
उनका अनुसार, ‘मेरी बहने मागे आजादी’ पाकिस्तानी महिला अधिकारकर्मीले लगाउने नारा हो। भासिनले यो पंक्ति सुनेपछि केही शब्द हेरफेर गरेर भारतमा लोकप्रिय बनाइन्।
त्यसयता शब्दमा धेरै परिवर्तन भइसके। यो नारा कुनै खास किसिमको आन्दोलनमा मात्र सीमित छैन। जुन बेथितिको विरोध गर्ने हो, त्यसैसँग मिल्ने गरी शब्द संशोधन गरिएको पाइन्छ। वामपन्थी तथा अन्यायविरुद्ध लडिरहेका समूहले यसलाई आफ्नो ढंगले रूपान्तरण गर्दै आएका छन्।
कन्हैयाले केही वर्षअघि जवाहरलाल नेहरू विश्वविद्यालयमा यही नारा घन्काएपछि यसको लोकप्रियता फेरि चुलियो।
‘यो नारा समाजका बेथिति र नकारात्मक प्रवृत्तिविरुद्धको ‘आजादी’ मात्र होइन, यसले सकारात्मक कुरा पनि गर्छ,’ भासिनले भने, ‘हामी निर्भीक रूपले हिँडडुल गर्न, लेखपढ गर्न, मस्तसँग नाच्न, ठूल्ठूलो स्वरले गीत गाउन, आफ्नो भावना अभिव्यक्त गर्न, आफ्नो संस्कृति मनाउन पनि ‘आजादी’ नारा लगाउन सक्छौं।’
कमला सन् १९७० देखि महिला मुक्ति आन्दोलनमा संलग्न छिन्। उनी महिला अधिकारको पक्षमा वकालत गर्ने समूहहरू ‘जगोरी’ र ‘संगत’ मा आबद्ध छिन्।
महिला मार्चपास निम्ति उनले रचेका अरू गीत पनि लोकप्रिय छन्। ती हुन्ः ‘तोड तोडके बन्धनों को देखो बहने आती है’ र ‘दरिया की कसम, मौजो की कसम, यह तानाबाना बदलेगा।’
उनले दिल्ली, धर्मशाला लगायत सहरी र ग्रामीण क्षेत्रमा लामो समय काम गरेकी छन्।
महिला मुक्ति हुँदै सामाजिक तथा राजनीतिक मुद्दा उराल्ने यो नारालाई पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बनाउने श्रेय भने फिल्म निर्देशन जोया अख्तरलाई जान्छ।
उनले पछिल्लो सुपरहिट फिल्म ‘गल्ली ब्वाई’ मा यही नाराको र्याप प्रस्तुत गरेकी थिइन्। फिल्ममा यो गीत चर्चित भारतीय र्यापर डिभाइनले गाएका छन्।