नयाँदिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा आइतबार राति केही नकाबधारी समूह आएर विद्यार्थीहरूमाथि सांघातिक हमला गरेका छन्।
सत्तारुढ भाजपाको भ्रातृ संगठन अखिल भारतीय विद्यार्थी परिषदले विश्वविद्यालयभित्र घुसेर सांघातिक हमला गरेको त्यहाँको विद्यार्थी युनियनले आरोप लगाएको छ। परिषदका सदस्यहरू फलामे रड बोकेर विश्वविद्यालयभित्र घुसेको युनियनको दाबी छ।
यो हमलामा विश्वविद्यालय विद्यार्थी युनियनका अध्यक्ष आयशी घोषसहित २३ जना विद्यार्थी घाइते भएका छन्। उनीहरूलाई अस्पताल लगिएको छ। घाइते विद्यार्थीको प्राथमिक उपचार र उद्धार निम्ति गएका डाक्टरहरूमाथि पनि नकाबधारी समूहले हमला गरेको थियो। उनीहरूले एम्बुलेन्स तोडफोड गरेका छन्।
विश्वविद्यालयका विद्यार्थीहरूले छात्रावासको शुल्क वृद्धिको विरोधमा र्याली निकालेका थिए। त्यही र्यालीमा अखिल भारतीय विद्यार्थी परिषदले ढुंगा र रडले हमला गरेको युनियनको आरोप छ। प्रहरी र विश्वविद्यालयका सुरक्षागार्डहरूले पनि नकाबधारी समूहलाई सघाएको युनियनका सदस्य बताउँछन्।
‘नकाब लगाएर आएका व्यक्तिहरूले एकाएक विद्यार्थीमाथि हमला गरे,’ युनियन अध्यक्ष घोषले भारतीय समाचार एजेन्सी एएनआईसँग भनिन्, ‘मलाई रक्ताम्मे बनाए।’
यो झडप साँझ ७ बजेतिर सुरू भएको थियो। त्यसको करिब एक घन्टापछि नै विद्यार्थी युनियनका पूर्वअध्यक्ष एन साई बालाजीले सामाजिक सञ्जालमा झडपको भिडिओ सार्वजनिक गरेका थिए।
नकाबधारी समूहबाट आक्रमण सुरू भएपछि छात्राहरू महिला छात्रावासभित्र लुकेर बसेका थिए। आक्रमणकर्ताहरू छात्रावासको करिडोरमा लठ्ठी र फलामे रड बोकेर हिँडेका थिए। उनीहरूले विश्वविद्यालय परिसरमा राखिएका गाडीहरूमा पनि तोडफोड गरेको बताइएको छ।
विश्वविद्यालयका प्राध्यापक अतुल सुदले एनडिटिभीसँग भनेका छन्, 'आक्रमणकारीहरू छात्रावासभित्र घुसेर ढुंगा हान्न थाले। त्यहाँका सामानहरू भत्काउन थाले। उनीहरूले हानेका ढुंगा साना थिएनन्, ठूल्ठूला थिए। पार्क गरेर राखिएका कार पनि सबै फुटाइदिए। मेरो कार पनि फुट्यो।'
यो हमलामा ढुंगा लागेर फ्याकल्टी सदस्य सुचित्रा सेनको टाउकोमा चोट लागेको छ। उनलाई अस्पताल भर्ना गरिएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विश्वविद्यालयभित्र भएको हिंसात्मक हमलाले आफू अचम्मित भएको बताएका छन्। प्रहरीले तुरून्त तनाव नियन्त्रणमा लिएर शान्ति पुनर्स्थापना गर्नुपर्नेमा उनले जोड दिए।
'हाम्रा विद्यार्थीहरू विश्वविद्यालयभित्रै सुरक्षित छैनन् भने हाम्रो देशले कसरी प्रगति गर्न सक्छ?' उनले भने।
विश्वविद्यालयको गेटबाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। घाइते विद्यार्थी उद्धार गर्न सातवटा एम्बुलेन्स त्यहाँ पुगिसकेको छ। थप १० वटा एम्बुलेन्स तयार अवस्थामा राखिएका छन्।
यसअघि नागरिकता कानुन र नागरिकता पञ्जीकरणविरूद्ध प्रदर्शन गरिरहेका जामिया मिलिया इस्लामिया विश्वविद्यालयका विद्यार्थीमाथि प्रहरीले धरपकड गरेपछि त्यसको आगो देशभरि फैलिएको थियो।