भारतमा नागरिकता संशोधन कानुनविरूद्ध देशव्यापी आन्दोलन चलिरहँदा धेरैले एउटै प्रश्न सोध्छन्- यो आन्दोलनमा बलिउड कहाँ छ?
उनीहरू यो कानुनको पक्षमा छन् वा विपक्षमा?
यसको जवाफ सरल र सोझो छैन। बर्सेनि अर्बौं रूपैयाँ कारोबार हुने बलिउडलाई कुनै पनि राजनीतिक मुद्दामा आफ्नो आवाज उठाउन गाह्रो पर्छ।
कुनै एउटा राजनीतिक समूहको पक्ष लिनेबित्तिकै अर्को समूह आक्रोशित हुन्छ जसको मूल्य फिल्मको व्यवसायले चुकाउनुपर्छ।
यस्तो प्रतिकूल परिस्थितिका बाबजुद केही अभिनेता-अभिनेत्रीहरू भिडबाट माथि उठ्छन् र रिलमा मात्र होइन, 'रियल लाइफ'मा पनि 'हिरो' कहलाउँछन्।
नागरिकता संशोधन कानुन र नागरिकता पञ्जीकरणविरूद्ध सल्किएको आगोमा पनि केही बलिउड कलाकारहरूले आफ्नो कित्ता प्रस्ट पारेका छन्।
सबभन्दा रोचक कुरा, यसपालि सत्ताविरूद्ध आवाज उठाएर जनतासँगै सडकमा मोर्चाबन्दी गर्नेमा ती अनुहार हामी देख्दैनौं जो पर्दामा हिरो बनेर आउँछन्। जो अन्यायविरूद्ध आवाज उठाउँछन्। जो शोषितको पक्षमा क्रान्ति गर्छन्।
यसपालि जनतासँगै सडकमा उभिनेहरू ती अनुहार छन्, जसलाई बलिउडले सधैं दोस्रो श्रेणीमा राखेको छ। रूख वरिपरि नाच्ने पात्रमा सीमित गरेको छ। र, आँसु बगाउँदै सहानुभूति बटुल्ने किरदार मान्छ।
'रिल लाइफ'मा प्रायः कमजोर देखाइने यी पात्र रियल लाइफमा भने 'बोल्ड हिरो' बनेर उदाएका छन्। यसमा सबभन्दा अग्रणी नाम अभिनेत्रीद्वय स्वारा भाष्कर र तापसी पन्नुको आउँछ।
उनीहरूले यो आन्दोलनको सुरूआतदेखि नै निरन्तर आफूलाई नरेन्द्र मोदी सरकारविरूद्ध उभ्याए। मोदी पक्षधरबाट प्रशस्त आलोचना र सामाजिक सञ्जालमा गालीका बाबजुद तापसी र स्वारा हरेक आन्दोलन कार्यक्रममा उभिँदै आएका छन्।
उनीहरू जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा भएको प्रहरी धरपकडदेखि जवाहरलाल नेहरू विश्वविद्यालयमा भएको हिंसात्मक हमलाविरूद्ध पनि खरो रूपमा प्रस्तुत भएका छन्। यसरी उत्रिनेमा सोनम कपुर, आलिया भट्ट, दीया मिर्जा, रिचा चड्डा लगायत अभिनेत्री पनि पर्छन्।
यी सबैमाथि एउटा आरोप थियो- उनीहरू बलिउडमा खासै नजमेका र प्रभाव पार्न नसकेका अभिनेत्री हुन्। उनीहरू आन्दोलनमा आउनाले बलिउडको कारोबारमा कुनै असर पर्दैन। उनीहरूका फिल्म बहुप्रतिक्षित र धेरै बजेटका नहुने भन्दै आन्दोलनमा उनीहरूको उपस्थितिले फिल्ममा कुनै प्रभाव नपार्ने बताइएको थियो।
तर यी सबै आरोप र भ्रम तोडेर सडकमा ओर्लेकी छिन् दीपिका पादुकोण। दीपिका मंगलबार राति जेएनयूमै पुगेर विद्यार्थीहरूप्रति आफ्नो ऐक्यवद्धता जाहेर गरेकी थिइन्। जेएनयूमा आइतबार राति नकाबधारी समूहले विद्यार्थीमाथि रड र ढुंगाले आक्रमण गरेको थियो। हिंसामा विद्यार्थी र प्राध्यापक गरी करिब २५ जना घाइते भएका थिए। उनले केही घाइतेहरूलाई भेटेकी पनि थिइन्।
यो आन्दोलनमा सरिक हुनु तीन कारणले अर्थपूर्ण छ।
एक, उनी बलिउडकै उच्च पारिश्रमिक लिने अभिनेत्रीमध्ये हुन्। उनी यस्ती अभिनेत्रीमा गनिन्छिन् जसको नाममा फिल्म बिक्छ। पछिल्लो समय 'पद्मावत', 'बाजिराओ मस्तानी', 'पिकु', लगायत हिट फिल्म दिएकी दीपिकालाई बलिउडमा 'लामो रेस'को अभिनेत्रीको दर्जा दिइन्छ।
उनले सिंगो भारत दुई चिरामा बाँडिएको यस्तो राजनीतिक आन्दोलनमा आफ्नो कित्ता प्रस्ट पार्नु भनेको जल्दोबल्दो करिअर नै दाउमा लगाउनु हो।
दुई, दीपिकाको बहुप्रतिक्षित फिल्म 'छपाक' यही शुक्रबार रिलिज हुँदैछ। निर्माताका रूपमा आफ्नो पहिलो फिल्म रिलिजको पूर्वसन्ध्यामा यस्तो राजनीतिक उपस्थिति जनाउनुले उनको फिल्मको कारोबार नै धर्मराउने खतरा हुन्छ।
उनले यस्तो समयमा आफ्नो राजनीतिक विचार अभिव्यक्त गरेर हातमा फिल्म नभएका वा दोस्रो श्रेणीका कलाकार मात्र आन्दोलनमा आउँछन् भन्ने भ्रम चिरेकी छन्। दीपिकाको यो फिल्मलाई समर्थन र बहिस्कारको नारा रातारात व्यापक पनि भइसक्यो। यो फिल्मकी निर्देशक मेघना गुलजार बलिउडको स्थापित नाम हो। दीपिकाको यो कदमले फिल्मसँग मेघनाको करिअर पनि दाउमा परेको छ।
तीन, मोदी पक्षधरहरूले जसरी दीपिकाविरूद्ध अभियान चलाउन थालेका छन्, त्यसले आगामी दिनमा उनलाई मात्र होइन, उनका श्रीमान रणवीर सिंहलाई समेत प्रभाव पार्ने खतरा छ। लगातार सुपरहिट फिल्म दिएका रणवीरलाई बलिउडमा तीन खानपछिका उत्कृष्ट अभिनेता मानिन्छ। अचेल करौडौं लगानीका फिल्म उनको एक्लो काँधमा हुन्छ।
दीपिकाको कदमले आफू मात्र होइन, रणवीरको करिअरलाई पनि चुनौती दिएको छ।
यिनै तीन कारणले जब दीपिका मंगलबार राति जेएनयूमा उपस्थित भइन् तब उनलाई धेरैले 'रिल र रियल लाइफ' दुवैमा 'बोल्ड' भन्न थालिएको छ। यो आन्दोलनमा भएको हिंसाविरूद्ध कदम उठाउने सबभन्दा ठूलो र चर्चित बलिउड अनुहार दीपिकाकै हो।
यसअघि फिल्म 'पद्मावत' मा पनि उनको भूमिकालाई लिएर विरोध भएको थियो। उनको नाक काट्ने र ज्यान मार्नेसम्म धम्की आउँदा पनि उनी हडबडाएकी थिइनन्। उनलाई समर्थकहरूले त्यो बेला पनि साथ दिएका थिए र फिल्म हिट पनि भयो।
(विभिन्न भारतीय सञ्चारमाध्यमको सहयोगमा)