इरानका राष्ट्रपति हसन रूहानीले मध्यपूर्व क्षेत्रबाट सबै अमेरिका सेना हटाउने चेतावनी दिएका छन्। इरानी सैनिक कमान्डर कासिम सुलेमानीको हत्याको बदलामा तेहरानको तर्फबाट यही नै 'अन्तिम जवाफ' हुने राष्ट्रपति रूहानीको भनाइ छ।
इराकको राजधानी बग्दाद विमानस्थलनजिकै गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मारिएका थिए।
'जनरल सुलेमानीले आइसिस, अल नुशराह र अलकायदाविरूद्ध बहादुरीका साथ लडेका थिए। आतंकवादविरूद्ध उनले नलडेका भए युराेपेली राजधानीहरू अहिले ठूलो खतरामा हुन्थे,' इरानी राष्ट्रपतिले बुधबार साँझ आफ्नो आधिकारिक ट्वीटमा भनेका छन्, 'सुलेमानीको हत्याको बदलामा हामी यो क्षेत्रबाट सबै अमेरिकी सेनालाई खेद्नेछौं।'
यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले मिसाइल आक्रमण गरेर अमेरिकाको 'गालामा थप्पड हानेको' बताएका थिए।
बुधबार बिहान देशका नाममा सम्बोधन गर्दै खामेनीले मंगलबार मध्यरात इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जन बढी मिसाइलबाट हमला गरिएको जानकारी दिएका हुन्।
‘हिजो राति मिसाइल आक्रमण गरेर हामीले उनीहरूको गालामा थप्पड हान्यौं। तर सैन्य कारबाही मात्रले पुग्दैन,’ खामेनीले भने, 'मध्यपूर्वमा भ्रष्ट अमेरिकाको उपस्थिति अन्त्य हुनुपर्छ। अमेरिका यहाँ आएर युद्ध, विभाजन र ध्वंशलाई बढावा दिइरहेको छ।’
इरानले हानेका १५ मिसाइलले अमेरिकी सैन्य अड्डामा कति क्षति भयो भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन। इरानी सरकारी सञ्चारमाध्यमले सैनिक स्रोतलाई उद्धृत गर्दै आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको दाबी गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म कुनै क्षति नभएको बताएका छन्। राष्ट्रपति ट्रम्पले नेपाली समयअनुसार अहिले राति १० बजे सम्बोधन गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ।