प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता समितिलाई भुक्तानी दिन बाँकी रहेका रकम विधिसम्मत ढङ्गले दिइने बताएका छन्।
मुख्यमन्त्री कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा काम भएकाले भुक्तानी दिनैपर्ने बताए।
गत वर्षको भुक्तानी कसरी दिन सकिन्छ भन्ने जिज्ञासामा उनले भुक्तानी दिने सन्दर्भमा विधि छ, विधिकै तह सम्पन्न कार्यको भुक्तानी पाउन कठीन नहुने बताए।
प्रदेशमा पाँच सयभन्दा अधिक उपभोक्ता समितिको करीब ९२ करोड भुक्तानी दिन बाँकी रहेको छ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल झाको राजीनामा आफूसमक्ष नआएको बताउँदै मुख्यमन्त्री राउतले राज्यमन्त्री डा झाको राजीनामा प्रसङ्ग आन्तरिक भएको बताए।
राज्यमन्त्री डा झाले सरकारलाई लक्षित गरी राजीनामा दिएको हो भन्ने प्रश्नको जवाफमा उनले झाको राजिनामा राष्ट्रिय जनता पार्टीको आन्तरिक समस्या भएको बताए।
राज्यमन्त्री डा झाले राष्ट्रिय जनता पार्टी संसदीय दलमा माघ १४ गते राजीनामा दिएका थिए।