बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका रामेश्वर फुयाँल नियुक्त भएका छन्।
उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री कार्यालयले उनको शपथग्रहण आज हुने जनाएको छ।
यसअघि संविधानसभा सदस्यसमेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन्।
तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले बर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैंले सम्हाल्दै आएका थिए।
बागमती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाँल मन्त्री बन्ने चर्चा निकै चलेको थियो।
बागमती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहेका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संविधानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बन्न लागेका हुन्।
(रासस)