गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनता र पार्टीबीचको सम्बन्ध बिग्रँदै गएको बताएका छन्।
नेकपा गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले जनताका सुखदुःखमा साथ र सहयोगका लागि घर एवं बस्तीमा पुग्नुपर्ने आवश्यकता औँल्याए।
कम्युनिष्ट पार्टी जनताको कसीमा बाँधिनुपर्नेमा जोड दिँदै उनले पार्टीको अस्तित्व सक्ने गरी कुनै पनि गतिविधि एवं क्रियाकलाप गर्न नहुने बताए।
जनतामा आधारित पार्टीका रूपमा यसको विकास हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टीलाई जनताको बीचमा सुरक्षित राख्नुपर्ने र अन्तरघातबाट पार्टीलाई बचाउनुपर्ने बताए।
पार्टी भित्रैबाट आफैलाई सिध्याउने काम हुँदा प्रतिक्रियावादीलाई सजिलो भएको भन्दै उनले आगामी दिनमा पार्टीलाई थप मजबुत र एकताबद्ध बनाउनका लागि गोपनीयता, इमान्दारी जस्ता कुरामा ध्यान दिनुपर्ने बताए।
पार्टीमा सादा जीवन उच्च विचारको आदर्शलाई कायम गराउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले यसलाई नेकपाले जीवित तुल्याउन प्रयत्न गरिरहेको जिकिर गरे।
(राससको सहयोगमा)