भारतमा नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच सोमबार साँझ भएको झडपका क्रममा एक जना व्यक्तिले राजधानी दिल्लीको सडकमा खुलेआम गोली चलाएको भिडिओ भाइरल भएको छ।
ती व्यक्तिले झडपकै क्रममा प्रहरीकै अगाडि सडकमा गोली चलाउँदै हिँडेका थिए। यसअघि पनि दिल्लीको सडकमा यस्तो गोलीकाण्ड भएको थियो। उनलाई तत्काल पक्राउ गरिए पनि सोमबार रिभल्भर बोकेर गोली चलाउँदै हिँड्नेलाई भने पक्राउ गरिएको छैन।
दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा भड्किँदा एक प्रहरी कन्स्टेबल र तीन सर्वसाधारणसहित चार जनाको मृत्यु भएको छ। कम्तिमा ३७ जना घाइते भएको इन्डियन एक्स्प्रेसले जनाएको छ।