मोहम्मद सइद सलमानी मंगलबार दिउँसो आफ्नो परिवारका लागि दूध किन्न बजार गएका थिए। त्यही बेला उनको कान्छो छोराको फोन आयो।
मोहम्मद सलमानी दिल्लीको खजुरी खास बजारबाट करिब डेढ किलोमिटर टाढा गामरी एक्सटेन्सनमा बस्छन्। उनी दूध किन्न निस्केकै बेला हातहतियार बोकेका करिब सय जनाको भीड गामरी एक्सटेन्सनको गल्लीमा पसेछ। उनीहरूले मुसलमान समुदायका घर र पसलहरूमा आगो लगाउन थालेछन्।
गैरमुस्लिम भीडले सलमानीको चारतले घरमा पनि हमला गरेछ। उनको परिवारका सदस्य आफ्नो ज्यान जोगाउन छतमा चढेछन्।
सलमानी छोराको फोन आउनेबित्तिकै हाँपदाँप गर्दै आफ्नो गल्लीभित्र छिरे। तर, भागाभाग ज्यान जोगाएका छिमेकीहरूले उनलाई घर जान दिएनन्।
‘छिमेकीहरूले मलाई बाटैमा रोके। भित्र जान खतरनाक छ भने। म जबर्जस्ती जान खोज्दै थिएँ, तर उनीहरूले मेरो ज्यानकै डर देखाए। गल्लीमा पस्ने हो भने आक्रोशित भीडले मलाई मार्न सक्छ भने। मैले सोचेँ, जे हुनु थियो भइसक्यो, त्यत्रो हुलदंगा भइरहेका बेला ज्यानकै खतरा मोलेर किन जानु?’ सलमानीले भने।
गामरी एक्सटेन्समै तयारी पोसाक व्यवसाय गर्ने ४८ वर्षीय सलमानीले अगाडि भने, ‘म घन्टौंसम्म बाटैमा अड्किएँ। घर जान पाइनँ। छतमा लुकेर बसेका परिवारका सबै सदस्य मारिए होलान् भन्ने डरले मलाई खाइरह्यो।’
मंगलबार दिउँसोको आक्रमणमा सलमानीको परिवारका अधिकांश सदस्य सकुशल रहे पनि उनकी ८५ वर्षीया आमा अकबरीको ज्यान गयो।
आक्रमणकारीहरूले घरमा दनदन्ती आगो सल्काउँदा तेस्रो तलामा रहेकी अकबरीको जलेर मृत्यु भएको उनले बताए।
उनको घर र पहिलो र दोस्रो तलामा सञ्चालित टेलरिङ वर्कसप पनि आगोले क्षतिग्रस्त छ। आक्रमणकारीहरूले घरबाट ८ लाख भारू नगद र परिवारका गरगहना पनि लुटेर लगेको उनले दाबी गरे।
‘मेरो केही बाँकी रहेन, न घर बच्यो न सम्पत्ति,’ सलमानीलाई उद्धृत गर्दै भारतीय अनलाइन अखबार स्क्रोल डटइन लेख्छ, ‘म सडकमा आएँ।’
अकबरीको शव जिटिबी अस्पतालमा छ। बिहीबार पोस्टमार्टम गरिने परिवारका सदस्यले बताएका छन्। सलमानी आफ्नी आमाको शव पुर्ख्यौली गाउँ मेरठ लगेर अन्तिम संस्कार गर्न चाहन्छन्।
उनका अनुसार, भीडले घरमा तोडफोड र आगजानी गर्दा उनको परिवारका सदस्य कोठाभित्र लुकेर बसेका थिए। त्यही बेला आक्रमणकारीले लुटपाट गरेको उनले बताए।
मोहम्मद सलमानीको परिवारमा उनकी आमा अकबरीसहित पत्नी, दुई छोरी र दुई छोरा छन्। उनको ठूलो छोरा आफ्नी पत्नीसँग घरको चौथो तलामा बस्छन्। आक्रमणकारीले हमला गर्दा उनीहरू दुवै जना अस्पताल गएका थिए। सलमानीकी गर्भवती बुहारीको प्रसव पीडा सुरू भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
‘बुहारीले आजै छोरी पाइन्,’ सलमानीले भने, ‘मेरो घरको सबै चिज लुटिएपछि मैले नयाँ सदस्य पाएको छु।’
जब आक्रमणकारीले उनको पहिलो र दोस्रो तलाको टेलरिङ वर्कसपमा आगो सल्काउन थाले, त्यहाँ काम गर्ने छ जना भागेर छतमा गए। आगोको लप्काले विस्तारै पूरै घरलाई छोप्यो। यसबीच कोठामा लुकेर बसेको परिवारका सदस्य पनि भागेर छतमै गए।
आगोको धुँवाले छत ढाकिएको थियो। तै पनि उनीहरूले जसोतसो आफ्नो ज्यान जोगाए।
‘मेरी आमा वृद्ध हुनुहुन्थ्यो। आगोको लप्काले पूरै घर छोपिसक्दा पनि उहाँ भाग्न सक्नुभएन, कोठाभित्र थुनिएर जिउँदै आगोमा जल्नुभयो,’ सलमानीले भने, ‘म त्यति बेला घरमा हुँदो हुँ त, उहाँलाई बोकेर भए पनि छतमा लैजान सक्थेँ कि!’
सलमानीको परिवार एक घन्टाभन्दा बढी छतमै अड्कियो। चारैतिर धुँवाको मुस्लो थियो। सास फेर्नसमेत सकस भएको उनीहरूले बताए।
उनीहरूले छतबाटै वरिपरिका घरमा दनदन्ती आगो लागेको भिडिओ खिचेका थिए। एउटा भिडिओमा उनीहरूले ‘जय श्रीरामवालाहरू बल्ल फर्के’ भनेको सुनिन्छ।
भीड गएपछि प्रहरीले सलमानीको परिवारलाई तल ओरालेको थियो। प्रहरीले नै उनीहरूलाई उसमानपुर चौकीमा लग्यो। चौकीमै सलमानीले आफ्नो परिवारका सदस्यलाई भेटेका थिए।
पछिल्लो चार दिनदेखि भारतको राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्र दंगाग्रस्त छ। नागरिकता कानुनको विरोधमा जारी आन्दोलनमाथि सरकार समर्थक हिन्दुवादी समूह सांघातिक हमलामा ओर्लिएपछि उत्तरपूर्वी दिल्लीका विभिन्न ठाउँमा हिंसात्मक झडप भएका छन्।
सरकार समर्थक भीडले खासगरी मुस्लिम समुदायलाई निशाना बनाउन थालेका छन्। मुस्लिमहरूका घर र पसल तोडफोड र आगजानी गरिएका छन्। व्यक्तिगत रूपमा सांघातिक हमला भइरहेका छन्।
संघीय सरकार मातहतको दिल्ली प्रहरीले भने यति ठूलो हिंसा भड्किँदा पनि पहिलो दुई दिन कुनै कारबाही गरेन। बरु कतिपय ठाउँमा प्रहरीको आँखैअगाडि सरकार समर्थक भीडले आगजानी गरेको पाइयो।
हिंसा भड्किएको उत्तरपूर्वी दिल्लीका विभिन्न ठाउँमध्ये खजुरी खास नजिकको गामरी एक्सटेन्सन एक हो। हिन्दुवादी समूहहरूबाट आक्रमणको डरले यहाँका मुस्लिम परिवार झिटीगुन्टा बोकेर घर छाड्न थालेका छन्। उनीहरू दिल्लीकै अन्य सुरक्षित ठाउँमा रहेका आफन्तकहाँ आश्रय लिन गएका छन्।
‘हामीलाई फेरि आफ्नो घर कहिले फर्कन पाउँछौं भन्ने थाहा छैन। अब भविष्यमा फेरि त्यो बस्तीमा गएर बाँच्न सकिएला भन्ने पनि लाग्दैन,’ गामरी एक्सटेन्सनका ३० वर्षीय सोहेल इस्माइल (नाम परिवर्तन) ले स्क्रोलसँग भनेका छन्।
इस्माइलका अनुसार, गामरी एक्सटेन्सन हिन्दु बहुल क्षेत्र हो। यहाँ मुसलमानका ९० देखि सय घर मात्र छन्। एउटा मस्जिद पनि छ, जसलाई अजिजिया मस्जिद भनिन्छ।
यो क्षेत्रमा सोमबार रातिबाट हिंसा सुरू भएको हो, जब दिल्लीका विभिन्न क्षेत्रमा बसोबास गर्ने करिब दुई सय मुसलमान करोल बाग मस्जिदमा हुने वार्षिक प्रार्थना गर्न यो बस्तीबाट गुज्रँदै थिए। उनीहरू लोनीतर्फ बढ्ने क्रममा जसै खजुरी खास पुगे, सयदेखि डेढ सय हिन्दुको भीडले उनीहरूमाथि ढुंगा र लठ्ठीले आक्रमण गरेको इस्माइलले बताए।
यो घटनापछि करिब दुई सय मुसलमानले गामरी एक्सटेन्सनको अजिजिया मस्जिदमा रातभर आश्रय लिएका थिए। मंगलबार बिहान स्थानीय मुसलमान समुदायले उनीहरूलाई दुई–तीन जनाको सानो समूहमा बाँडेर त्यो ठाउँबाट बाहिर निकालेको थियो।
इस्माइलका अनुसार, बिहान करिब पौने ११ बजेतिर हिन्दुहरूको ठूलो भीड फेरि यहाँ आयो। उनीहरूले ‘जय श्रीराम’ र मुस्लिमविरोधी नारा लगाउँदै यहाँका स्थानीय मुसलमानको घरभित्रै घुसेर तोडफोड र कुटपिट गर्न थाले। कतिपय घरमा पेट्रोल बम प्रहार गरेर आगो लगाए।
‘दुई घन्टाभन्दा बढी हुलदंगा भयो। उनीहरूले हाम्रो मस्जिद पनि तोडफोड गरे। भित्र घुसेर हाम्रो कुरान जलाइदिए,’ इस्माइलले भने, ‘भीडले एक जना मुसलमानलाई जिउँदै जलाउन खोजेको थियो। यहीँको एक जना हिन्दु परिवारले उसको ज्यान बचायो।’
यति ठूलो घटना हुँदा पनि स्थानीय प्रहरी साढे दुई घन्टापछि मात्र घटनास्थल पुगेको उनले बताए।
‘प्रहरीले भीड पन्छाउन खोजेको थियो, तर उनीहरूलाई प्रहरीको डर थिएन। उनीहरू प्रहरी आएपछि एउटा गल्ली छाडेर अर्को गल्लीमा पसे र त्यहाँका घरमा आगो लगाउन थाले,’ इस्माइलले भने।
मंगलबार साँझ ४ बजेतिर गामरीका केही मुसलमान घटनाको रिपोर्ट गर्न प्रहरी कार्यालय गए। इस्माइलका अनुसार, रिपोर्ट गर्न गएका मुसलमानलाई प्रहरीले आक्रमणकारीको समूह ठूलो भएकाले रोक्न असमर्थ रहेको जवाफ दिएका थिए।
‘प्रहरीले नै मुसलमानलाई सुरक्षित ठाउँमा जान सल्लाह दिइरहेका थिए,’ उनले भने।
सुरक्षा दिनुपर्ने प्रहरीबाटै यस्तो जवाफ सुनेपछि मुसलमानहरू आफ्नो परिचयपत्र, अन्य अत्यावश्यक कागजात र सरसामान बोकेर छिमेकीको घरमा आश्रय लिन गएका थिए।
‘उनीहरू घर छाडेर गए पनि हिन्दु छिमेकीहरूबाट बस्तीको खोजखबर लिइरहेका छन्,’ उनले भने, ‘यहाँ अझै पनि आक्रमणकारी सडकमा घुमिरहेका देखिन्छन्।’
(यो स्टोरी हामीले स्क्रोल डटइनबाट अनुवाद गरेका हौं।)
यो पनि हेर्नुहोस्: