प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्य डा. डिला संग्रौलाले राज्य व्यवस्था समितिको भर्चुअल बैठक तत्काल बोलाउन माग गरेकी छिन् ।
माननीय संग्रौलाले सिङ्गै मुलुक अहिले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको र संसदको अधिवेशन चालु नरहेकाले सम्बन्धित सरकारी अधिकारीहरुलाई पनि आमन्त्रण गरी ‘मिनी संसद’ पनि भनिने समितिको बैठक तत्काल बोलाउन राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठलाई आग्रह गरेकी छिन्।
'स्वास्थ्य मन्त्रालयमा कमिशनको हिसाब किताब चलिरहंदा देशभरि स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण बिना नै काम गर्नु परिरहेको अवस्था छ', उनले भनिन्, 'टेस्ट गर्न भनेर ल्याइएका उपकरणहरुको विश्वसनियता माथि नै प्रश्न उठेको छ। यस्ता विषयमाथि सरकारलाइ जिम्मेवार र जवाफदेही बनाउन पनि समितिको बैठक जति सक्दो चाँडो बस्न जरुरी छ।'
भौतिक रुपमा उपस्थित हुन सम्भव नभए उपलब्ध प्रविधिको प्रयोग गरी भर्चुअल बैठक गर्न उनले माग गरेकी छिन्। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले त्यस्तो बैठक गरि सकेको छ।