रूकुम पश्चिमको आठसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि रातको समयमा आक्रमण भयो।
कार्यालयको काम सकेर आफ्नो निवासतर्फ फर्किंदै गरेका उनीहरूमाथि रातको समयमा बाटो ढुकेर आक्रमण भएको थियो। केसीको टाउकोमा ५ वटा टाँका लगाउनु पर्यो।
३ नम्बर वडा अध्यक्ष केशरमान विकको निर्देशनमा उनीमाथि कुटपिट भएको पीडितले जाहेरी दिए।
उक्त आरोपमा वडा अध्यक्ष विक २० दिन हिरासतमा बसे। उनीविरूद्धको अभद्र व्यवहार शीर्षकको मुद्दा अझै विचाराधीन छ।
विकका सहोदर भाइ गोपाल विकविरूद्ध ज्यान मार्ने उद्योग मुद्दा छ। त्यो पनि विचाराधीन नै छ।
वडा अध्यक्ष विकको संलग्नता र निर्देशनमा फेरि गाउँलेमाथि कुटपिट भएको आरोप लागेको छ। त्यसपछि उनी फरार रहेका छन्।
कुलोपानीको विषयमा गाउँलेलाई कुटेपछि जिल्लाको आठसिकोट नगरपालिका वडा नम्बर ३ खदीका वडा अध्यक्ष विक शनिबारदेखि बेपत्ता रहेको जिल्ला प्रहरी प्रमुख ठकबहादुर केसीले जानकारी दिए।
‘उहाँ कार्यालयमा पनि हुनुहुन्न र घरमा पनि हुनुहुन्न,’ डिएसपी केसीले भने, ‘त्यसैले उहाँलाई फरार भएको भन्नु ठीक हो।’
शनिबार दिउँसो माथिल्लो विक गाउँ र तल्लो बोहोरा गाउँका बीचमा सिँचाइ पानीको विषयमा झडप भएको थियो। त्यसक्रममा ८ जना घाइते भएका थिए।
डिएसपी केसीका अनुसार गम्भीर घाइते तीन जना छन्। ४४ वर्षीय गोपाल बोहोरा, २८ वर्षीय गणेश बोहोरा र २९ वर्षीय मदन भण्डारीको अवस्था गम्भीर छ।
उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा लाठी तथा घरेलु हतियारको जस्तो चोट देखिएको प्रहरीले बताएको छ।
तीन जना घाइतेको स्थानीय स्तरमा उपचारपछि थप उपचारको लागि प्रदेश राजधानी सुर्खेत हुँदै बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
डिएसी केसीले अन्दाजी ३० वर्षीय वडा अध्यक्ष विककै नेतृत्वमा तल्लो गाउँका मानिसमाथि आक्रमण भएको हुँदा उनी फरार रहेको बताए।
‘वडाध्यक्षकै नेतृत्वमा तल्लो गाउँका मानिसमाथि आक्रमण गरेको भन्ने छ। उहाँको खोजी भइरहेको छ र उहाँ तीन दिनदेखि फरार हुनुहुन्छ,’ केसीले भने।
सुन्तला पकेट क्षेत्रको पानी कसले प्रयोग गर्ने भन्ने सवालमा वडाध्यक्षको नेतृत्वमा तल्लो गाउँमा आक्रमण भएको देखिएको डिएसपी केसीले जानकारी दिए।
‘यो पुरानो झगडा भनिएको छ र यसमा राजनीति पनि मिसिएको देखिन्छ,’ केसीले भने।
वडाध्यक्ष विक पूर्वमाओवादीबाट निर्वाचित भएका थिए।
एक सरकारी अधिकारीले भने पूर्वमाओवादीबाट निर्वाचित विकमा सत्ता र शक्तिको पहुँचले गर्दा यस्ता घटनामा उन्मुक्ति पाउँदै आएको बताए।
म भागेको छैन, गाउँमै छु: वडाध्यक्ष विक
वडाध्यक्ष विकले आफू नभागेको र गाउँमै रहेको जानकारी दिए। त्यसैगरी उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गरे।
‘यो तल्लो टोल र माथिल्लो टोलको झडप हो, त्यसमा मलाई मुछ्नु षडयन्त्र हो,’ विकले भने।