सत्तारूढ नेकपाका स्थायी समिति सदस्यहरुले लिखित रुपमै बैठक माग गरेपनि नेकपाको स्थायी समिति बैठक बसेको छैन।
नेकपा भित्र अध्यक्ष प्रचण्ड र माधव नेपाल एकातर्फ भएपछि पार्टी भित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्थायी समिति र केन्द्रीय समितिमा अल्पमतमा छन्। नेकपा भित्र अहिले युद्धविरामको अवस्था छ। तर अझैपनि स्थायी समिति बैठकको माग सेलाएको छैन।
सेतोपाटीका मनोज सत्यालले नेकपाका स्थायी समिति सदस्य एवं कृषि मन्त्री घनश्याम भुषालसँग नेकपाको अहिलेको अवस्थाबारे कुराकानी गरेका छन् -
अन्तर्वार्ताका मुख्य मुख्य बुदाँहरु-
* पार्टी बैठक जति छिटो गर्नुहुन्छ, जति धेरै बैठक गर्नुहुन्छ समस्याहरु समाधान हुन्छ। बैठकबाट भागेर पार्टी समस्या समाधान हुदैँन। स्थायी समिति बैठक हुनुपर्छ।
* संवाद जारी राखी राख्यौँ भने बैठक आज की भोलि भन्ने टेक्निकल कुरा हुन्छ। बैठक सुरु गरेर आन्तरिक विवादका विषयमा पछि छलफल गरौँ भन्ने मेरो प्रस्ताव थियो। लिपुलेकको विषय, कोरोना र बजेटबारे छलफल गर्न सकिन्थ्यो।
* मैले मन्त्री भएपछि प्रधानमन्त्रीलाई भनेँ - तपाईं प्रधानमन्त्री, म मन्त्री। मलाई यसको सीमा र मर्यादा ख्याल राख्नुपर्छ भन्ने थाहा छ। म पार्टीमा आफ्नै हिसाबले आफ्नो खुट्टामा उभिएर राजनीति गर्दै आएको व्यक्ति हुँ भन्ने तपाईंले ख्याल गर्नुपर्छ। प्रधानमन्त्रीले 'तपाईंको अन्तस्करणले ठिक छ, भनेको कुरा गर्नुस् म सपोर्ट गर्छु भन्नुभयो।
* नेता माथि ठूलो पदमा पुगेको एकथोक। उसका लागि एउटा कानुन। अर्को गुटमा नलागेको र सत्ताधारी गुटमा नपरेको व्यक्ति लेखेटेको लेखेटेकै हुनुपर्ने विधि होइन। यो लोकतान्त्रिक होइन। भद्रगोलतन्त्र हो। हामी विधिमा जाऔँ भन्ने हो।
* एक व्यक्ति एक पद भन्ने कुरा झलनाथ खनाल पार्टी अध्यक्ष भएका बेला उहाँ संसदीय दलको अध्यक्ष उठ्दा एक व्यक्ति एक पदको नारा लाग्यो। म त्यसको विरोधी थिएँ। एक व्यक्ति एक पद भन्नेकुरा सैद्धान्तिक विषय होइन। यो टेक्निकल कुरा हो।
* माक्सको एउटा भनाई छ - मान्छेले आफूले आफैँलाई जन्माइरहेको हुन्छ। त्यो भनेको व्यक्तिले आफूलाई करेक्सन गर्नुपर्छ भन्ने हो।