दाङमा बुधबारसम्म संक्रमितको संख्या ५८ पुगेको छ। त्यसमध्ये गढवा गाउँपालिकाका एक जना उपचारपछि घर फर्किसकेका छन्।
यसमा दाङ घर भए पनि काठमाडौंमा पहिचान भएका थप दुई जनालाई गणना नगरिएको जिल्ला फोकल पर्सन कमल चन्दले जानकारी दिए।
काठमाडौंमा फेला परेका संक्रमितमध्ये एक जना तुलसीपुर ४ रक्षाचौरका निको भएर घर आइसकेका छन् भने अर्का घोराही ९ का काठमाडौंमै उपचाररत छन्।
वडाध्यक्षमा संक्रमणपछि वडा कार्यालय सिल
दाङको बंगलाचुली गाउँपालिकामा एक जना वडाध्यक्षलाई संक्रमण देखिएपछि वडा कार्यालय सिल गरिएको छ।
बुधबारदेखि वडा कार्यालय सिल गरिएको चन्दले बताए।
क्वारेन्टिन व्यवस्थापनमा खटिएका ती वडाध्यक्षलाई भारतबाट आएका संक्रमितबाट संक्रमण भएको आशंका गरिएको छ।
२० कोरोना संक्रमित पालिकाकै आइसोलेसनमा
दाङका २० जना संक्रमित दुई दिनदेखि क्वारेन्टाइनमै बस्दै आएका छन्। बुधबार पहिचान भएका थप ५ जना संक्रमितलाई सम्बन्धित पालिकाकै क्वारेन्टिनमा राखिने भएको छ।
बुधबार बंगलाचुलीमा २ र राजपुरमा ३ जना संक्रमित फेला परेका छन् ।
कोरोना संक्रमितको उपचारका लागि बेलझुन्डीमा स्थापना भएको कोरोना विशेष अस्पतालमा बिरामी भरिएपछि घोराही उपमहानगरपालिकाका ९ जना र बंगलचुली गाउँपालिकाका ६ जना गरी १५ कोरोना संक्रमित २ दिनदेखि क्वारेन्टिनमै बस्दै आएका छन् ।
दाङका बंगलाचुली र घोराही उपमहानगपालिकामा सोमबार र मंगलबार १७ जनामा कोरोना संक्रमण देखिएको थियो। १७ संक्रमितमध्ये राप्ती गाउँपालिका दुई जना बिरामीलाई नेपालगंज लगिएको छ। सोमबार कोरोना संक्रमण देखिएका घोराहीका ९ जनालाई घोराही उपमहानगरपालिकाले ३ नम्बर वडाको कुइरेपानीमा रहेको क्वारेन्टिन राखिएको छ।
६ जना संक्रमितलाई कमिरेचौरमा राखिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए।
उनले अस्पतालको क्षमता बढाएर बिरामीको उपचार गर्ने बेला केन्द्र सरकारले सहयोग नगर्ने र प्रदेश सरकार पन्छिन खोज्दा बिरामीहरूको क्वारेन्टिनमै मर्ने अवस्था आएको गुनासो गरे।
उनले कोरोना संक्रमितका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगायतका अस्पतालमा सम्पर्क गर्दा कुनै अस्पतालले बिरामी लिन नमानेको गुनासो गरे।
एक सय बेड क्षमता रहेको कोरोना विशेष अस्पतालमा ५१ जना कोरोना संक्रमितको उपचार भैरहेको छ। उनीहरूमध्ये पोजेटिभ रिपोर्ट आएका बिरामीहरूलाई बेड परिवर्तन गर्नुपर्ने भन्दै बाँकी बिरामी लिन नसकिने भन्दै अस्पतालहरू पन्छिरहेको उनको आरोप छ।
बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा एक सय बेड क्षमता भएपनि जनशक्ति र अन्य व्यवस्थापनका कारण थप बिरामी राख्न समस्या भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन् ।
अहिले थप संक्रमितलाई उपचारका लागि आइसोलेसन अस्पताल बनाउने काम भैरहेको उनको भनाइ छ।
संक्रमितलाई फनपार्कमा
स्थानीय सरकार, स्थानीय प्रशासन र सम्बन्धित व्यवसायीको सहमति र समन्वयमा घोराही उपमहानगरपालिका अमराइमा सञ्चालनको तयारीमा रहेको फनपार्कलाई कोरोना अस्पतालका रूपमा प्रयोग गरिने भएको छ। सो स्थानमा आवश्यक बेड र अन्य भौतिक पूर्वाधार तयारको काम भैरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
त्यहाँ कम्तीमा ५० जनासम्म संक्रमितलाई राखिने छ।
त्यसैगरी सम्भावित थप संक्रमितलाई राख्नका लागि सम्बन्धित पालिकाहरूले आ–आफ्नो क्षेत्रमा कोरोना आइसोलेसन बेड बनाउने तयारीमा रहेको पनि उनले बताए। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार जिल्लामा १६ वटा अस्पतालहरूमा १६६ आइसोलेसन बेड तयारी अवस्थामा रहेका छन् ।