९ महिनाभन्दा बढी समयदेखि थुनामा रहँदै आएका नेत्रविक्रम चन्द ‘विप्लव’का सहोदर दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई सोमबार दाङ जिल्ला अदालत उपस्थित गराइएको थियो।
सरकारद्वारा प्रतिवन्धित पार्टीका एक वरिष्ठ नेता (केन्द्रीय सदस्य) मध्यपश्चिम कमाण्ड इन्चार्ज रहेका वीरजंगलाई अदालतले १५ हजार धरौटीमा छोड्ने आदेश दियो।
यसअघि पक्राउ परेको ६७ औं दिनमा पनि अदालतले वीरजंगसँग १५ हजार नै धरौटी माग गर्दै रिहाइ गर्न आदेश दिएको थियो। तर प्रहरीले फेरि पक्राउ गर्छ भन्ने ठानेर उनले त्यो बेला धरौटी रकम नबुझाई हिरासतमै जाने निर्णय गरेका थिए।
यो पटक अदालतले मागेअनुसार धरौटी बुझाएर छुटे पनि गेटबाहिर जान पाउँछन् कि पाउँदैनन्? भन्नेमा एक प्रकारको कौतुहलता थियो।
छुटेलगत्तै अदालत परसरमै चन्दलाई शुभेच्छुक, आफन्त र परिवारका सदस्यले खुसीका साथ अविर/माला लगाइदिए। नौं महिना बढी समय बन्दी जीवन बिताउँदै आएका वीरजंगको अनुहारमा पनि उन्मुक्तिको आशा दौडिएको अनुभूति हुन्थ्यो।
शुभेच्छुक र आफन्तले अविर/माला लगाइदिँदा वीरजंगको अनुहारमा छाएको उत्साह क्षणभरमै हराउँथ्यो। मतलव: अदालतले छोडे पनि यहाँबाट जान पाउने/नपाउनेमा उनी ढुक्क थिएनन्।
‘हामी परिवर्तनका पक्षधर हौं। देश र जनताको हितका लागि क्रियाशील छौं। तर, सरकारले पटक/पटक आफूहरुलाई गलाउन सकिन्छ कि? भनेर दुःख दिने काम गर्दै आएको छ,’ पत्रकारसँग केही समय बाेलेका उनले भनेका थिए ‘सरकारले आफैले निर्माण गरेको कानुनको आफै धज्जी उडाउने काम गर्दै आएको छ।’
एउटै विषयमा पटक/पटक मुद्दा लगाउने र ठाउँ ठाउँमा लैजाने कार्य निरंकुशताको पराकाष्ट भएको उनले दाबी गरे।
उनले सरकार ढल्ने निश्चित भइसकेको भन्न पनि पछि परेनन्। क्वारेन्टिन अस्तव्यस्त भएको, दश अर्ब खर्च देखाएको, भोलि जनता भोकभोकै मर्ने स्थिति देखिएको, आत्महत्याको दर बढेको जस्ता घटना उनले सुनाए।
उनले त्यो बोलिरहँदा वरिपरि प्रहरी हतियारसहित तैनाथ थिए। दिउँसो साढे ४ बज्नै लाग्दा उनी जिल्ला अदालतबाट बाहिर निस्कन खोजे। उनी अदालत परिसरबाट निस्कनै खोज्दा पुनः प्रहरीले नियन्त्रणमा लियो।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका ‘वीरजंग’लाई संगठित अपराधसम्वन्धी मुद्दा प्रहरी प्रशासनले लगाएको छ।
‘उहाँविरुद्ध राज्य विरुद्धको संगठिक अपराधमा काभ्रे जिल्लामा मुद्दा छ,’ एक प्रहरी अधिकारीले भने ‘ त्यसैले उहाँलाई सोमबार नै दाङदेखि काभ्रे पठाइएको हो।’
‘बीरजंग’ गत असोज ३० गते राति नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं. ४ को मुग्रेठाबाट पक्राउ परेका थिए।
राप्ती व्यूरोको बैठक चलिरहँदा प्रहरीले घेरा हालेर ‘वीरजंग’सहित समूहका २१ जना नेता/कार्यकर्ता पक्राउ गरेको थियो। पक्राउ परेका अन्य सबैजना विभिन्न समयमा अदालतको आदेशपछि रिहा भइसकेका छन्।
विप्लवका सहोदर दाजु ‘वीरजंग’ भने ९ महिनाको अन्तरालमा पहिलो पटक अदालतको आदेशमा धरौटीमा छुटेका भए पनि पुनः पक्राउ परेका हुन्। पछिल्लो समय उनलाई तुलसीपुर कारागारमा राखिएको थियो।