मंगलबार कार्यकक्षमै आक्रमण खेपेका दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीसँग विगत केही दिनयता विप्लवका कार्यकर्ताले फोनमार्फत् चन्दा माग्दै आएका थिए।
उनले यो कुरा गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीलाई भनेका थिए।
‘चन्दा नदिएपछि वडाध्यक्षमाथि यसरी आक्रमण भएको देखिन्छ,’ गाउँपालिका अध्यक्ष डाँगीले भने।
मागेको चन्दा नदिएकै कारण वडाध्यक्षमाथि आक्रमण भएको पारिवारिक स्रोतले पनि दाबी गर्यो।
‘उहाँले फोनमा चन्दा मागेर धम्की दिने गरेको कुरा गर्दै आउनु भएको थियो,’ परिवारका एक सदस्यले भने,‘उहाँले दिन नमान्दा यसरी आक्रमण भयो।’
गाउँपालिका अध्यक्ष डाँगीले पनि विप्लवका कार्यकर्ताले पटक/पटक जनप्रतिनिधिलाई फोनबाट चन्दा माग्दै धम्किदिने गरेको भन्ने जस्ता कुरा आफूलाई आउने गरेको बताए।
‘जसले चन्दा दिन्छ उसलाई छुट र जसले दिँदैन उसलाई आक्रमण गर्ने हो भने गरिब र इमान्दारले राजनीति गर्नु व्यर्थ हुन्छ’, उनले भने।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले घाइते वडाध्यक्ष डाँगीलाई थप उपचारको लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको जानकारी दिए।
घाइते वडाध्यक्षलाई मंगलबार दिउँसो हेलिकप्टर चार्टर्ड गरी काठमाडौं पठाइएको उनले बताए।
वडाध्यक्षमाथि बिहान सवा ११ बजेतिर कार्यकक्षमै १०/११ जनाको संख्यामा आएका अज्ञात समूहले रड र लाठी प्रहार गरेका थिए।
आक्रमणबाट वडाध्यक्षको टाउको, हात खुट्टा र शरीरका विभिन्न भागमा चोट पटक लागेको छ।
डाँगी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।
यसैबीच वडाध्यक्ष डाँगीमाथि कार्यकक्षमै भएको आक्रमणको नेपाली कांग्रेस दाङले भर्त्सना गरेको छ।
घाइते डाँगीको अवस्था बुझ्न राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुगेका कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे।
‘यो त राज्यविहीन अवस्था जस्तै भयो,’ सभापति खड्काले भने,‘कार्यकक्षमै जनप्रतिनिधिमाथि भएको आक्रमणको जति निन्दा गरे पनि पुग्दैन।’
विप्लवका सात आरोप
घटनास्थलमा सरकारले प्रतिबन्धित गरेको ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्ति नगर गाउँपालिकाका सेक्रेटरी कमल सिंहको नाममा जारी विज्ञप्ति फेला परेको छ। जसमा उनले वडाध्यक्ष फर्साराम डाँगीलाई कारबाही किन ? भन्ने ७ वटा बुँदाहरू उल्लेख गरेका छन्।
वडाध्यक्षले दर्जनभन्दा बढी सर्वसाधारणलाई कुटपिट गरेको निवेदन जनअदालतमा आएको, कुटपिट गरेका मुद्दाहरू पीडितलाई डरधम्की दिँदै प्रहरी प्रशासनलाई समेत प्रभावमा पारी गुपचुप राखेको, विकासे कामहरू आफ्नो मान्छेलाई जिम्मा दिने, कमिसन खाने, जनतासँग विभिन्न बहानामा कमिसन खाने गरेको, जुवा तास खेल्ने र खेलाउने जस्ता सामाजिक विकृतिका क्रियाकलाप गरेको, राजनीतिक प्रतिशोध साँधेर सर्वसाधारणलाई दुःख दिने गरेको, विद्यालय, वन जस्ता सार्वजनिक संस्थाहरूमा अस्वभाविक हस्तक्षेप गरी आफू अनुकूल कार्य गरेको, गुण्डागर्दी गरेको जस्ता आरोपहरू लगाइएको छ।