बाँकेको कोहलपुर नगरपालिकाले प्रदेश नं. ५ को हालको अस्थायी राजधानी बुटवलभन्दा कर्णाली प्रदेशमा मिसिनु उपयुक्त हुने निर्णय गरेको छ।
असार २३ गते भएको नगर सभाले ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलभन्दा कर्णाली प्रदेशको राजधानी सुर्खेत कोहलपुरलाई पायक पर्ने तर्कसहित बुटवल स्थायी राजधानी भए त्यहाँबाट छुट्टिने र कर्णाली प्रदेशमा मिसिने निर्णय पारित गरेको हो।
‘हालको स्थायी राजधानी बाँके र बर्दियाभन्दा अलि अपायक पर्ने ठाउँमा छ,’ उपमेयर सञ्जुकुमारी चौधरी भनिन्, ‘यदि स्थायी राजधानी पनि बुटवल नै कायम भयो भने कोहलपुर त्यहाँबाट छुट्टिएर कर्णाली प्रदेशमा मिसिनुपर्छ भन्ने निर्णय नगरसभाले पारित गरेको छ।’
तर,दाङसम्म राजधानी भयो भने त्यो स्वीकार्य हुने निर्णय भएको उपमेयर चौधरीले बताइन्।
‘दाङ पनि राजधानी भएन भने हामी कर्णाली प्रदेशमा मिसिनु पर्छ भन्ने कुरा नगरसभाले एकमतले पारित गरेको हो,’ उपमेयर चौधरीले भनिन्।
उनले तीन वर्षसम्म पनि प्रदेश नम्बर-५ ले स्थायी राजधानी घोषणा गर्न नसकेको हुँदा प्रेसर दिनका लागि समेत कोहलपुरको नगरसभाले त्यस्तो निर्णय पारित गरेको तर्क गरिन्।
‘कोहलपुर पनि एउटा स्थानीय सरकारले हो र यसले पनि आफ्नो विधायिकी निर्णय त गर्न पायो नि,’ उपमेयर चौधरीले भनिन्,‘तीन वर्ष पुग्दा पनि प्रदेश सरकारले राजधानी टुंगो लगाउन सकेन, त्यसैले हामीले प्रेसर पनि दिने खोजेका हौं।’
उनले बाँके र बर्दियाका जनतालाई बुटवलसम्म जान एकदमै गाह्रो भएको तथा आफूहरूलाई सुर्खेत नै पायक पर्ने भएको हुँदा नगरसभाले पारित गरेको निर्णय उचित भएको दाबी गरिन्।
‘संघीयताको मर्मविपरीत राजधानी तोकिन्छ भने हामीले त्यसलाई मान्नै पर्छ भन्ने छैन’, चौधरीले भनिन्, ‘दाङसम्म राजधानी भएछ भने ठीकै छ, त्यो स्वीकार्नु पर्छ,हैन बुटवल नै जानुपर्ने भयो भने हामी कर्णाली प्रदेशमा मिसिनु उचित हुन्छ।’
कोहलपुरको नगरसभाले पारित गरेको निर्णयको बारेमा कुरा गर्ने प्रयास गर्दा बाँके कोहलपुर क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश कृषि मन्त्री आरती पौडेल भने सम्पर्कमा आउन चाहिनन्।
योभन्दा अगाडिदेखि नै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवरशम्सेर राणाले पनि बुटवल राजधानी भए आफूहरू कर्णालीमा मिसिने बताउँदै आएका छन्।
उनले पनि दाङसम्म राजधानी भए स्वीकार्न सकिने र त्योभन्दा पूर्व राजधानी भए बाँके जिल्ला कर्णालीमा मिसिनु उपयुक्त हुने तर्क गर्दै आएका छन्।