स्थानीयले सडकको दुरावस्थाबारे ध्यानाकर्षण गराउन बीच सडकमै केराका बोटहरु रोपेका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ– लमही खण्डमा सडकैभर खाडल परेपछि लमही नगरपालिका वडा नं. १ नर्तिका स्थानीयले बीच सकडमै दुई वटा केराको रुखहरु रोपेका हुन्।
वर्षाका कारण सडकका खाडलमा पानी भरिएपछि दुर्घटनाको जोखिम बढेको, हिँड्डुल गर्न समस्या भएको स्थानीयले बताएका छन्।
‘भैंसी आहाल बस्ने जस्ता खाडलहरु सडकैभरी छन्,’ एक स्थानीयले भने ‘तर, सडक मर्मत गर्ने कुरामा कसैले ध्यान दिँदैननन्, त्यही भएर सडक विभागको ध्यान केन्द्रित गर्न बीच सडकमै केरा रोपेका हौं।’
सडकै भरि ठूला ठूला खाडल परेका कारण सवारी दुर्घटना बढेको, धेरैले अकालमा ज्यान गुमाउनु परेको, पैदल यात्रु, साइकल चलाउनेलाई यात्रा गर्न कठिन भएको उनले बताए।
मुख्य मन्त्रीको जिल्लामै कसैले ध्यान नदिएपछि सबैको ध्यानाकर्षण गराउन केराका रुखहरु बीच सडकमै रोपिएको उनले बताए ।
खाडलमा जम्मा भएको पानीका कारण स्थानीयलाई हिँडडुल गर्न समस्या हुने गरेपछि स्थानीयले सांकेतिक विरोधस्वरुप पूर्व–पश्चिम राजमार्गमा दुई वटा केराका बोटहरु रोपेको स्थानीय रमेश चौधरीले जानकारी दिए।
सडकका खाडल पुर्न सम्बन्धित निकायले कुनै चासो नदिएको हुँदा सडक विभाग र राजमार्ग भएर ओहोर दोहोर गर्ने मन्त्री तथा राजनीतिक दलहरुको ध्यान केन्द्रित गर्न स्थानीयले सोमबार विहान सडकमा केराका दूई वटा रुख रोपेको उनले जानकारी दिए।
लमही र भालुवाङ बीचको सडकमा अत्याधिक खाल्डाखाल्डी छ। ती खाडलमा बर्षामा पानी जम्मा हुन्छ र सडक क्षमता भन्दा बढी भार बोकेका सवारीले झनै बिगार्ने भएकाले दुर्घटनाको जोखिम बढेको छ।