सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले नेकपा पार्टी एकताको दिशातर्फ केन्द्रित भएको दाबी गरेका छन्।
मंगलबारको नेकपाको बैठकमा उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको उनको भनाइ छ।
बुधबार आयोजित साक्षात्कारमा नेता थापाले मंगलबारबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको स्पष्ट पारे।
उनले भने, 'हिजोबाट हाम्रो पार्टी एकताताको स्पिरिटमा आइपुगेका छौँ, अब यही कोर्समा पार्टी अघि बढ्छ, म एकताको पक्षमा छु। म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु। अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु।'
उनले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक सङ्घर्षले पार्टी टुटफूट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता भए पनि पार्टी फुटको चरणमा नभएको दाबीसमेत गरे।
उनले भने, 'हाम्रो पार्टी फुटको चरणमा छैन् तर शक्ति सङ्घर्ष उत्कर्षमा पुगेको छ। यो शक्ति सङ्घर्ष कुनै वैचारिक होइन, व्यक्तिगत पद र प्रतिष्ठाको लागि जस्तो देखिएको छ।'
उनले पार्टीमा बहुमत-अल्पमतको आधारमा नभइ सहमतिको आधारमा निर्णय हुनुपर्ने पनि धारणा राखे।
(रासस)