सल्यानको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले आइतबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
खलंगामा पत्रकार सम्मेलन गरी केसीले आफ्नी आमा अम्बिका केसी, पत्नी चाँदनी केसी, भाइ सुधन केसी र आफ्नो नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
केसीले सार्वजनिक गरेको विवरणमा सल्यान, दाङ र काठमाडौंमा गरी ५ वटा घर भएको उल्लेख गरेका छन्।
सल्यानको श्रीनगरमा २ वटा, लान्तिमा १, दाङको तुलसीपुरमा १ र काठमाडौंको मन्डिखाटारमा १ वटा घर रहेको उनले बताए।
त्यसबाहेक सल्यानको लान्ती, भोटेचौर, फलाबाङ क्षेत्रमा करिब २५ रोपनी खेतबारी, श्रीनगर र लान्तीमा ५ वटा घडेरी, दाङको तुलसीपुर उपमहानगरपालिकामा करिब १२ कट्ठा खेत रहेको विवरण केसीले सार्वजनिक गरेका छन्।
आफूसँग २५ तोला सुन रहेको केसीले बताएका छन्। सवारी साधनमा एउटा क्रेटा कार, एउटा बुलेट र एउटा होन्डा साइन मोटरसाइकल र ट्रयाक्टर २ वटा रहेको उल्लेख गरेका छन्।
अध्यक्ष केसीले आफूलाई ७ करोड ९५ लाख ५० हजार रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन्।
त्यो सबै ऋण एउटै बैंकमा रहेको उनले बताए। सल्यान खलंगाको कुमारी बैंक शाखाबाट विभिन्न शीर्षकमा उक्त ऋण लिएको देखाइएको छ।
आम्दानी अन्तर्गत दाङ, सल्यान र काठमाडौंको घर भाडाबाट समेत जोडेर बार्षिक ७० लाख रुपैंया जति आम्दानी हुने गरेको सार्वजनिक विवरणमा देखाइएको छ।
त्यस्तै क्याप्टेन भाइको तलबबाट वार्षिक ७५ लाख आम्दानी हुने उल्लेख गरेका छन्।
अध्यक्ष केसीका भाइ तारा एयरलाइन्समा क्याप्टेन छन्।
अध्यक्ष केसीले गाउँपालिकाबाट वार्षिक ४ लाख बढी तलब प्राप्त हुने गरेको विवरण सार्वजनिक गरेका छन्।
त्यस्तै उनको पुर्ख्यौली हार्ड वेयर व्यवसाय पनि छ। सल्यानमै केसीका संचात सप्लायर्स र सन्तोष इन्टरप्राइजेज छन्। कारोबारबाट वार्षिक ६० लाख र दुइटा ट्रयाक्टरको आम्दानी २४ लाख जति हुने विवरण उनले सार्वजनिक गरेका छन्।
अध्यक्ष केसीले हाल आफूसँग विभिन्न बैंकमा गरेर ३५ लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको जानकारी दिएका छन्।
पारदर्शिता र जवाफदेहीताका लागि आफूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको अध्यक्ष केसीले बताए।
‘मेरो परिवारले यो सम्पत्ति व्यवसाय गरेर आर्जन गरेको हो,’ केसीले भने, ‘राजनीति गरेर मैले कमाउनुभन्दा बरू धेरै गुमाएको छु।’
अध्यक्ष केसीले धेरैजसो जनप्रतिनिधिले जीवनभर राजनीतिबाहेक अरू केही नगरेर थुप्रै सम्पत्ति आर्जन गरेको देख्दा आफू पनि आश्चर्यमा पर्ने गरेको तर्क गरे।
‘भ्रष्टाचार र अनियमितता गरी आर्जन गरेको सम्पत्ति हैन भने सबै जनप्रतिनिधि र नेताहरूले नैतिकताका हिसाबले सम्पत्ति सार्वजनिक गर्न हिम्मत गर्नु पर्छ,’ केसीले सेतोपाटीलाई फोनमा भने, ‘देश र जनताको सेवाको लागि राजनीति गरौं, होइन कमाउने हो भने व्यापार व्यवसाय गरे हुन्छ।’
नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष केसी सम्पत्ति विवरण सार्वजनिक गर्ने जिल्लाको पहिलो जनप्रतिनिधि हुन। ३३ वर्षीय केसी जिल्लाकै सबै भन्दा कान्छो गाउँपालिका अध्यक्ष पनि हुन्।
केसी पार्टीको क्षेत्रीय सभापति र तरूण दल सल्यानका अध्यक्ष पनि हुन्।