हराएको चारदिनपछि दाङको तुलसीपुरमा फेला परेका सल्यानको शारदा नगरपालिका- १३का वडाध्यक्षले विप्लवका कार्यकर्ताको यातनामा परेको बताएका छन्।
प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार बुधवार तुलसीपुरको एक मः म पसलमा फेला परेका वडाध्यक्ष तुलसीराम रावतले प्रहरी समक्ष विप्लवका कार्यकर्ताले चन्दा मागेर यातना दिए बताएका हुन्।
'विप्लव कार्यकर्ताले चन्दा मागेर यातना दिएपछि चन्दाको व्यवस्था गर्न दाङ झरेको भन्ने बयान गर्नुभएको छ,' उनले सेतोपाटीसँग भने।
अरू जम्मैले चन्दा दिइसकेका र आफूले मात्रै नदिएको हुँदा विप्लवका कार्यकर्ताले आफुलाई सारै टर्चर दिएको उनको भनाइ रहेको डिएसपी सिंहले बताए।
वडाध्यक्ष रावतले प्रहरीसमक्ष बुधवार मात्रै आफूले घोराहीस्थित एउटा पसल सञ्चालकलाई २५ हजार रूपैयाँ आइएमई गरेर पठाई दिएको र कोही माग्न आए दिनु भन्ने आग्रह गरेको बयान दिएका छन्।
चारदिन पछि फेला परेका वडाध्यक्ष रावतलाई जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापा आफै दाङको तुलसीपुर आइ लिएर गएको डिएसपी सिंहले जानकारी दिए।
रावत गत शनिबार सल्यानको सितलपाटीबाट नाइट बस चढेर दाङको तुलसीपुरस्थित बीपी चोकमा झरेका थिए।
दुई दिनदेखि घर नफर्किएपछि परिवारले उनी अपहरणमा परेको आशंका गरेका थिए। परिवारले उनको खोजी गरिदिन प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय सल्यान, कर्णाली प्रदेश प्रहरी कार्यालय, ५ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङले खोजीलाई तीव्रता दिएका थिए।
उनको खोजी गर्न सल्यानबाट प्रहरीको एक टोली दाङ आएको थियो।
घर नगएपछि रावतले छोरालाई फोन गरेर म जिल्लामै बस्छु भनेका थिए। अर्को दिन फेरि फोन गरेर मेरो खातामा २० हजार रुपैयाँ पठाइ देऊ भनेपछि उनी अपहरणमा परेको आशंका गरिएको थियो।
मंगलबार दिनभरि भने उनको मोबाइल स्वीचअफ गरिएको थियो।
प्रहरीले उनलाई आर्थिक कारोबार वा राजनीतिक कारणले विप्लव समूहले अपहरण गरेको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको थियो।