सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफूले अझै ३० वर्षका युवासँग राजनीतिक रुपमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन्।
दाङको तुलसीपुरमा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले आफूले पार्टीमा लामो समय योगदान गरेको प्रसंग उल्लेख गर्दै अझै पनि युवाहरूसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको बताए।
‘म अझै ५-७ वर्ष त बाँच्छु होला भन्ने लाग्छ,’ गौतमले भने, ‘३०-४० वर्षका जवानहरूसँग प्रतिस्पर्धा गर्न सक्छुजस्तो लाग्छ। म एउटा महत्वाकांक्षी भएर त होला।’
झन्डै एक घन्टा सम्बोधन गरेका उनले आफू सात वर्षको उमेरदेखि राजनीतिमा लागेको बताए। उनले मुलुकका हरेक परिवर्तनमा आफले नै निर्णायक भूमिका निर्वाह गरेको बताएका थिए।
पछिल्लो समय पार्टीमा समस्या उत्पन्न भएको र त्यो समाधान गर्ने प्रयास भइरहेको उनले बताए। इमान्दार कार्यकर्ताले उत्पन्न समस्या समाधान गर्न र पार्टी विभाजन नगर्न भनेर खबरदारी गरिरहेको उपाध्यक्ष गौतमले बताए।
खासगरी प्रतिपक्षले पार्टी फुट्छ भन्ने गरेको उनले बताए। त्यस्तै, उनले स्थापित मिडियाले समाचार बिकाउन पार्टी विभाजनको प्रचारमा लागेको आरोप लगाए।
‘हाम्रो समस्या कुन डिग्रीको उनीहरूलाई मतलब छैन,’ गौतमले भने, ‘तर, उनीहरूले त्यो डिग्रीलाई ह्वात्तै बढाइदिन्छन् र त्यसले गर्दा पार्टी आज फुट्ने हो कि भोलि फुट्ने हो भन्ने भा’को छ।’
तर, उनले आफूहरूसँगै बसेर उत्पन्न समस्या समाधानको प्रयास गरिरहेको बताए। उनले पार्टीभित्र समस्या भने रहेको स्वीकार गरे। साथै उनले मिलेको पार्टी विभाजनसमेत हुनसक्ने बताए।
‘मिलेको पार्टी फुट्न किन सक्दैन?,’ उनले प्रश्न गरे।
मर्दै नमर्ने व्यक्ति कोही नहुने र त्यो प्रकृतिको नियम भएजस्तै मिलेका पार्टी फुट्नु कुनै नौलो कुरा नहुने उनको आशय थियो।
पार्टीमा दुबै अध्यक्षको हैसियत बराबर भए पनि वरिष्ठताको आधारमा पहिला केपी शर्मा ओलीको नाम लेख्ने भन्ने कुरा भएको उनले तर्क गरे। पार्टी एकताका क्रममा भएका सहमति कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको भन्दै उनले जबसम्म नेताले आफूलाई ढाँटेर हिँड्छन् तबसम्म समस्या समाधान नहुने बताए।
विधानमा दुई वटा अध्यक्षको सहमतिमा बैठक गर्ने भन्ने उल्लेख रहे पनि कहिले को सहमत नहुने र कहिले को सहमत नहुने परिस्थितिले गर्दा बैठकसमेत बस्न नसकेको उनले स्पष्ट पारे।
त्यस्तै, पार्टीभित्र मात्रै छलफल नभएर विभिन्न कमजोरीका प्वालहरूबाट समेत बाहिर छलफल हुने गरेको हुँदा त्यसले पनि समस्या सिर्जना भएको उपाध्यक्ष गौतमले बताए। उनले नेकपाभित्रको विवादलाई कुखुराको बानीसँग पनि तुलना गरे।
‘खोरमा पालेको हैन, छोडुवा कुखराले जब कुनै पनि खाने कुरा फेला पार्छ, त्यसले यति हल्ला मच्चाउँछ कि सारा कुखुरा त्यहीँ झुम्मिन पुग्छन्,’ गौतमले थपे, ‘अहिले भएको त्यही हो र हामी पनि हल्ला सुनेपछि झुम्मिएर झगडा गर्ने खुकुराजस्तै भएका छौं।’
‘म यता गयो भने उता गुट बनायो भन्छन् र उता गयो भने अर्को गुटमा लाग्यो भन्छन्,’ गौतले भने, ‘लौ यो त पीपल पाते हो, यस्लाई विश्वास गर्नु हुन्न भन्ने गर्छन्।’
उनले आफू कहिलै कुनै गुट निर्माणमा नलागेको र पार्टी एकताको पक्षमा सधैं उभिँदै आएको दाबी गरे।