निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामावाली अद्यावधिक गर्न सुरू गरेको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरूका चरणमा गर्नुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिक गर्न थालिएको छ।
सरकारले प्रतिनिधि सभाको निर्वाचन दुुई चरणमा आगामी वैशाख १७ र २७ गर्ने गरी मिति तोकिसकेको छ। यद्यपि, उक्त निर्वाचनका विषयमा दलबीच उत्पन्न भएको विवाद निरूपणका लागि सर्वाेच्च अदालतमा विषय प्रवेश गरेको छ।
आयोगले ऐनमा व्यवस्था भएअनुुसार निर्वाचन घोषणा भएलगत्तै ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट गरिरहेको मतदाता नामावली संकलन स्थगित गरेको छ।
निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबभन्दा पहिले आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका बनाउनुपर्ने हुन्छ।
निर्वाचनसम्बन्धी ऐन कानूनले व्यवस्था गरेअनुरूप त्यस्तो काम विधि र प्रक्रियाले तोकिएको मितिभन्दा अगाडि पनि गर्न सकिँदैन, पछि सार्न पनि मिल्दैन।
तोकिएको मितिमा ठीक/ठीक तरिकाबाट कार्यसम्पन्न गर्ने सिलसिलामा हाल कार्यतालिका निर्धारणका लागि मस्यौदा तयार गरिसकेको छ।
उक्त मस्यौदालाई निकट भविष्यमै अन्तिमरूप दिएर निर्णयका लागि पेश हुने क्रममा रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
आयोगले निर्वाचनका लागि आवश्यक पर्ने बजेट अनुमानको काम गरिरहेको छ।
उक्त निर्वाचनका लागि के/कस्ता क्रियाकलाप गर्नुपर्छ, त्यसका लागि कति जनशक्ति के/कति समय परिचालन हुुन्छ र त्यसमा के/कस्ता अन्य स्रोत सामग्री आवश्यक पर्छ भन्ने आधारमा बजेटको निर्क्यौल गर्नुपर्ने भएकाले आयोगले बजेट अनुमान गर्ने काम भइरहेको बताइएको छ।
‘विगतका निर्वाचनकै विधि प्रक्रिया र क्रियाकलाप गरिने भए पनि कति मात्रामा जनशक्ति परिचालन गर्छौं, कति समयमा त्यो क्रियाकलाप सञ्चालन हुन्छन्, के/कस्ता सामग्री प्रयोग गर्छौं भन्नेसँग बजेट निर्धारण हुन्छ’, उनले भने।
यद्यपि, अघिल्लो आमनिर्वाचनमा सात अर्ब रुपैयाँको हाराहारीमा खर्च भएकाले यस पटक पनि सोही वरपरकै खर्च हुने अनुमान छ।
अहिलेको निर्वाचन कोरोनाका कारण स्वास्थ्यका दृष्टिकोणले निर्वाचन व्यवस्थापन गर्नुपर्ने भएकाले केही खर्च थप लाग्ने अनुमान गरिएको छ।
बजेट तर्जुमाको काम भइसकेपछि आयोगले स्वीकृत गरी अर्थ मन्त्रालयसँग अनुरोध गर्नेछ।
निर्वाचनका लागि प्रयोग हुुने मतपेटिकालगायत अत्यावश्यक सामग्री जिल्ला निर्वाचन कार्यालयमा के, कति र कस्तो अवस्थामा मौज्दात छ, नपुग हुुने सामग्री कति हो भन्ने विवरण आयोगले लिइरहेको छ। त्यससम्बन्धी विवरणप्राप्त भइसकेपछि आवश्यक थप सामग्री व्यवस्थापन गरिने छ ।
सवारी साधन, मेसिनरी औजारको संख्या र अवस्थाबारे आयोगले जिल्ला–जिल्लाबाट विवरण लिइरहेको छ।
त्यस्ता सामग्रीको मर्मत सम्भार गर्न लाग्ने खर्च तथा कम्प्युटर, फोटो कपि, फ्याक्सलगायत सामग्रीको अवस्थाको विवरण पनि तत्तत् कार्यालयबाट मागिरहेको छ।
निर्वाचनका सन्दर्भमा प्रयोग हुने निर्देशिका, कार्यविधिलाई विद्यमान, ऐन कानूनका आधारमै निर्वाचन हुने भए पनि आयोगले आचार संहितालगायत विषयलाई अद्यावधिक गर्नुपर्ने छ। सो कार्य सुरू भएको छ।
निर्वाचन कार्यतालिका आयोगबाट स्वीकृत भएपछि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्न सूचना प्रकाशित गर्ने, दलसँग अरू कार्यमा सरसल्लाह गर्ने, मनोनयपत्र दर्ता गर्नेदेखि निर्वाचन चिह्न प्रदान र मतदान गर्ने सम्मका कार्य हुनेछ। त्यसका लागि आवश्यकता र प्राथमिकता निर्धारण गरी आयोगले योजनाबद्ध र व्यवस्थितरूपमा गर्ने छ। निर्वाचन आयोगमा हाल १३० भन्दा राजनीतिक दल दर्ता छन्। मतदातको संख्या भने एक करोड ५४ लाखको हाराहारीमा छ।
निर्वाचनलाई व्यवस्थित र मर्यादित तुल्याउन के, कस्ता विषयमा विशेष ध्यान पुर्याउनुपर्छ भनी प्रमुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले विगतका निर्वाचनमा आयोगमा रही अनुुभव हासिल गरेका सूचना प्रविधि मन्त्रालय र सरकारी सञ्चार माध्यमका प्रदाधिकारीसँग राय, सुझाव र सल्लाह लिए। रासस