पश्चिम बंगालमा त्रिणमूल कंग्रेस (टिएमसी)का एक युवा नेताको हत्या भएको छ।
मोटरसाइकलमा आएका दुई जनाले मंगलबार साँझ टिमएसी नेता धर्मेन्द्र सिंहलाई गोली हानेका थिए। उनलाई पश्चिम बंगालको हावडास्थित रेलवे स्टेशनमा गोली हानिएको थियो।
घाइते सिंहलाई अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।
प्रहरीले गोली हान्नेहरूको खोजी गरिरहेको जनाएको छ। साथै हत्याको कारणबारे पनि अनुसन्धान भइरहेको छ।
सिंहको हत्या भएपछि उनका समर्थकहरूले आक्रोश पोखेका छन्। उनीहरूले केही मोटरसाइकलमा आगो लगाएका छन् भने पसलहरूमा तोडफोडसमेत गरेका छन्।
स्थितिलाई नियन्त्रणमा लिन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको एनडिटिभीले जनाएको छ।
टिएमसीका नेता अरूप रायले उनको हत्याका पछाडि ठूलो षड्यन्त्र रहेको बताए।
'धर्मेन्द्र सिंहको टाउकोमा गोली हानेर हत्या गरिएको छ। प्रहरीले अनुसन्धान गरिरहेको छ। हत्याका पछाडि ठूलो षड्यन्त्र रहेको लाग्छ,'उनले भने।
धर्मेन्द्रको हत्या हुनुमा विपक्षी भारतीय जनता पार्टीको षडयन्त्र हुन सक्ने उनले बताए।