प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याएलगत्तै जनता समाजवादी पार्टी फुटाउन चलखेल भयो।
त्यति बेला बालुवाटारकै ‘निर्देशन’ बमोजिम पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठले सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरबाट 'अपहरण' शैलीमा काठमाडौं ल्याएका थिए।
तर, समाजवादी पार्टी फुटाउने योजना भताभुंग भएर उल्टै यादवले आफूलाई अपहरण गरेको आरोप लगाएपछि प्रधानमन्त्री ओलीसँगै बस्नेत, श्रेष्ठ र खनालको आलोचना भयो। काठमाडौं प्रहरीले जाहेरी लिए पनि जिल्ला सरकारी वकिलको कार्यालयले अपहरण मुद्दा अघि नबढाएपछि उक्त प्रकरण त्यसै सेलायो।
त्यही प्रकरणबारे फेसबुक स्ट्याटस लेख्ने एक व्यक्तिलाई भने आठ महिनापछि प्रहरीले पक्राउ गरेर उक्त घटना ताजा पारिदिएको छ।
बस्नेत र खनालविरूद्ध सामाजिक सञ्जालमा स्ट्याटस लेखेको आरोपमा बाँकेका डिल्लीबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो। उनले आठ महिनाअघि बस्नेत र खनाल मिलेर सांसद अपहरण गरेको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए। के लेखेका थिए भन्ने अहिलेसम्म स्पष्ट नखुलेको पारिवारिक स्रोतले जनाएको छ।
नेपालगञ्ज उपमहानगरपालिका-१८ का चन्दलाई पछिल्लो आठ महिनामा प्रहरीले कहिल्यै खोजी गरेको थिएन। पुस १४ गते राति उनी एक्कासि पक्राउ परे। त्यसको अघिल्लो दिन नै बस्नेत नेपालगन्ज पुगेका थिए।
गोर्खाज फाइनान्समा ड्युटी बसेका चन्दलाई त्यहीँबाट गिरफ्तार गरिएको हो। उनी पूर्वअसई हुन्। प्रहरी संगठनमा लामो समय अनुभव संगालेका व्यक्तिलाई बाँकेबाट पक्रेर काठमाडौं ल्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। सामान्य कारबाहीमै टुंगिने मुद्दामा साइबर अपराधसम्बन्धी कानुन लगाएर किन थुनियो भन्ने प्रश्न पनि उठेको छ।
बाँकेका एसपी ओम राना बस्नेत नेपालगन्ज पुगेलगत्तै चन्द पक्राउ पर्नुलाई संयोग मात्र मान्छन्।
‘उहाँ आउनु र चन्द पक्राउ पर्नु संयोग मात्र हो, हामीलाई साइबर ब्युरोबाट पक्राउ गरी पठाउन चिठी नै आएको थियो,’ रानाले सेतोपाटीसँग भने, ‘पक्राउ गरेर सोही दिन हामीले काठमाडौं पठाएका हौं।’
साइबर ब्युरोले पनि चन्दविरूद्ध बस्नेत आफैंले साइबर अपराधमा उजुरी दिएकाले पक्राउ गरिएको जनाएको छ।
आठ महिनापछि किन पक्राउ गरियो भन्ने प्रश्नमा ब्युरो प्रमुख एसएसपी नविन्द अर्यालले भने, ‘सांसदज्यूकै उजुरी आएको थियो, व्यक्तिको पहिचान र फेसबुक पत्ता लगाउन समय लागेको हो।’
चन्दको परिवारले भने उनले अर्काको फेसबुक स्ट्याटसमा कमेन्ट मात्र गरेको दाबी गरेको छ। उनले पछि माफी मागेर उक्त कमेन्ट हटाइसकेका थिए।
यसबीच बस्नेत नेपालगन्ज आएलगत्तै उनी पक्राउ परे। त्यस रात घर आउन ढिला गरेपछि उनकी श्रीमती कमला चन्दले फोन गरेर सोध्दा आफ्ना श्रीमान पक्राउ परेको जानकारी पाएकी थिइन्।
‘मैले खाना चिसो हुन थाल्यो, किन आउनुहुन्न भनेपछि उहाँले म जिल्ला प्रहरी कार्यालयमा छु। खान आउन्न भन्नुभयो,’ कमलाले भनिन्, ‘उहाँलाई किन पक्राउ गरिएको हो, मलाई केही थाहा छैन।’
त्यसको केही बेरमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट केही प्रहरी चन्दको घर आएर एक जोर न्यानो कपडा लिएर गएको कमलाले बताइन्।
‘उहाँलाई सोधपुछका लागि काठमाडौं पठाउनुपर्ने भएको हुँदा कपडा दिनुहोस् भनेर प्रहरी घरमै आएपछि दिएकी हुँ,’ कमलाले भनिन्, ‘पछि मैले थाहाँ पाएँ, नेकपाका नेता तथा पूर्वमन्त्रीले हालेको मुद्दाका आधारमा उहाँलाई पक्राउ गरी रातारात काठमाडौं लगिएको रहेछ।’
कमलाका अनुसार उनका श्रीमान डिल्लीबहादुर ४/५ वर्ष पहिले असईबाट अवकाश पाएपछि निजी बैंकमा सुरक्षाकर्मीका रूपमा कार्यरत थिए। उनले श्रीमानले के कमेन्ट लेखेका थिए भन्नेबारे आफू अनभिज्ञ रहेको बताइन्। ‘उहाँले के लेख्नुभएको थियो, त्यसबारे मलाई केही थाहा थिएन,’ कमलाले भनिन्, 'जे भए पनि नेताजस्तो मान्छेले यसरी सामान्य जनतासँग प्रतिशोध साँध्नु ठिक हो र?'
‘सरकारको आलोचना जहाँ पनि हुन्छ, जनताले पदमा बस्नेलाई सामान्य गालीगलौज गर्यो भन्दैमा मुद्दा बनाएर दुःख दिनु सही मान्न सकिन्न,’ उनले भनिन्।