न्यान्सी पेलोसी अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुखमा फेरि निर्वाचित भएकी छन्। आइतबार भएको निर्वाचनमा उनी झिनो बहुमतले सभामुखमा निर्वाचित भएकी हुन्।
डेमोक्र्याटिक पार्टीकी सांसद ८० वर्षीया पेलोसीले २१६ मत ल्याउँदा रिपब्लिकन उम्मेदवार केभिन म्याकक्यार्थीले २०९ मत पाए। ४३५ सदस्यीय तल्लो सदनमा डेमोक्र्याटिक पार्टीको २२२ सिट छ।
गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्याटिक पार्टी अघिल्लो चुनावभन्दा केही सिट गुमाएकाले संसदमा पेलोसीको मत घटेको हो। पाँच जना डेमोक्र्याटिक सांसदहरूले पेलोसीलाई समर्थन गरेनन्। तीमध्ये २ जनाले उम्मेदवार नै नभएका नेतालाई भोट हाले भने तीन जनाले कुनै उम्मेद्वारलाई नचुनी आफूहरु उपस्थित भएको मात्रै लेखेका थिए।
पहिलो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पकी खरो आलोचकमा रूपमा देखिएकी पेलोसीलाई नयाँ कार्यकालमा राष्ट्रपति जो बाइडेनलाई सघाएर अघि बढ्नु पर्ने चुनौती छ।
'आज सपथ लिएसँगै हामीले अघिल्लो पुस्ताको कुनै पनि नेतृत्वले सामना गरेको भन्दा झन् बढी महत्वपूर्ण जिम्मेवारीलाई स्वीकारेका छौं। निकै नै कठिन समयमा हामीले नयाँ कंग्रेस सुरू गरेका छौं,’ सभामुख निर्वाचित भएपछि पेलोसीले भनिन्,‘यो हाम्रो राष्ट्रका लागि निको हुने बेला हो। हाम्रो अहिलेको मुख्य प्राथमिकतालाई हराउनु हो र हामी यसलाई परास्त गर्नेछौं।’