इरानको रिभोलुसनरी गार्ड्स क्रप्सले दक्षिण कोरियाको एउटा ट्यांकरलाई कब्जामा लिएर चालक दलका २० जनालाई नियन्त्रणमा राखेको छ। उक्त ट्यांकरलाई नियन्त्रणमा लिइएको इरानी मिडियाले सोमबार जनाएका छन्।
अमेरिकी प्रतिबन्धका कारण कोरियाली बैंकले इरानको ७ अर्ब डलर फ्रिज गरेपछि पछिल्लो समय सउल र तेहरानबीच तनाव जारी रहेका बेला यो घटना भए हो।
सउलले रसायन बोकेको आफ्नो ट्यांकर इरानले ओमानको समुद्रबाट इरानले नियन्त्रणमा लिएको भन्दै तुरून्त छोड्न माग गरेको छ।
इरानी मिडियाहरूले भने उक्त ट्यांकरले समुद्रमा रासायनिक प्रदुषण फैलाएकाले नियन्त्रणमा लिएको दाबी गरेका छन्।
'स्थानीय अधिकारीहरूले दिएको प्रारम्भिक विवरणअनुसार यो विशुद्ध प्राविधिक कुरा हो। समुद्रलाई प्रदुषण गरेकाले ट्यांकरलाई तटमा ल्याइएको हो,’ विदेश मन्त्रालयमा प्रवक्ता साइद खातिबजादेहलाई उद्धृत गर्दै सरकारले टेलिभिजन भनेको छ।
नियन्त्रणमा लिइएका चालक दलका सदस्य कोरिया, इन्डोनेसिया, भियतनाम र म्यानमारका नागरिक हुन्। उक्त ट्यांकरलाई अहिले इरानको बान्डार अब्बास पोर्ट सिटीमा राखिएको छ।
अमेरिकाको विदेश मन्त्रालयले इरानलाई तत्काल ट्यांकर छोड्न भनेको छ।
अमेरिकी नेभीको बहराइनस्थित फिफ्थ फ्लिट घटनाबारे जानकार रहेको र परिस्थितिलाई नजिकबाट नियालिरहेको अमेरिकाको भनाइ छ।
कोरियाली उपविदेश मन्त्रीको तेहरान भ्रमणअघि यो घटना भएको हो। इरानी विदेश मन्त्रालयका प्रवक्ता खातिबजादेहले आगामी दिनमा कोरियाली मन्त्रीको भ्रमण हुने बताए।
उक्त भ्रमणका क्रममा अमेरिकी प्रतिबन्धका कारण कोरियाली बैंकले फ्रिज गरेको इरानको सात अर्ब डलर फुकुवा गर्नेबारे पनि छलफल हुने उनको भनाइ छ।
वासिङ्टन इरान न्युक्लियर डिलबाट बाहिरिएपछि अमेरिकाले सन् २०१८ मा इरानविरूद्ध फेरि प्रतिबन्ध लगाएको थियो। जुन अहिले पनि जारी छ।