साउदी अरब, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्सले तीन वर्षअघि सानो मुलुक कतारमाथि लगाएको नाकाबन्दी सकिएको छ।
मंगलबार साउदी अरबका युवराज मोहम्मद बिन सलमानले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई साउदी अरबमा स्वागत गरेका छन्। कतारी अमिर गल्फ कोअपरेसन काउन्सिलको सम्मेलनमा भाग लिन साउदी पुगेका हुन्।
सन् २०१७ जुनमा यी चार मुलुकले मध्यपूर्वमा रहेका इस्लामी अतिवादी समूहलाई सघाएको र इरानसँग घनिष्ट सम्बन्ध राखेको आरोप लगाउँदै कतारसँगको जल, स्थल र हवाइ सम्बन्ध तोडेका थिए।
छिमेकी मुलुकले नाकाबन्दी गरेपछि कतारले उडानका लागि इरानको आकाश प्रयोग गर्दै आएको थियो। नाकाबन्दी सकिएपछि अब कतारले इरानलाई आकाशको शुल्क स्वरूप तिरिरहनु परेको लाखौं अमेरिकी डलर जोगिने भएको छ।
मंगलबारको सम्मेलनपछि जारी विज्ञप्तिमा पाँचै मुलुकले कुनै पनि देशले अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र सबै मुलुक आफूले चाहेजसरी परराष्ट्र नीति सञ्चालन गर्न स्वतन्त्र भएको उल्लेख गरिएको छ।
नाकाबन्दी लामो समयसम्म जारी रहे कतार सधैँका लागि इरान र टर्कीसँगै जाने ठानेर चार मुलुकले नाकाबन्दी तोडेको हुन्।
मंगलबारको सम्मेलनमा बोल्दै साउदी युवराज सलमान पनि इरानलाई ठेगान लगाउन अरब एकता आवश्यक भएकोमा जोड दिए।
'इरानको आणविक कार्यक्रमले हाम्रो क्षेत्रमा देखा परेको चुनौतीलाई सामना गर्न हामीलाई यो एकता आवश्यक छ,’ उनले भने,‘यो क्षेत्रको शान्तिमाथि उत्पन्न खतराविरूद्ध अन्तर्राष्ट्रिय समुदाय गम्भीर भएर एक ठाउँमा उभिन जरूरी छ।’
सम्झौताअनुसार कतारले अरू राष्ट्रविरूद्ध विश्व व्यापार संगठनमा हालेका मुद्दाहरूलाई फिर्ता गर्नेछ।
नाकाबन्दी लगाउँदाताका अरू मुलुकले कतारसँग राखेका सबै माग भने पूरा भएका छैनन्। मुस्लिम ब्रदरहुडलाई गर्दै आएको सहयोग रोक्नु पर्ने, अलजजिरालगायत मिडिया बन्द गर्नुपर्ने माग ती मुलुकले छोडेका छन्।
यो नाकाबन्दी हटाउन कुवेतले मध्यस्थताको भूमिका खेलेको थियो भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जरेड कुशनरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले विशेष गरी युएईलाई मनाउन ठूलो प्रयास गरेको बताइएको छ।
कुशनर मंगलबारको सम्मेलनमा सहभागी हुन साउदी अरब पुगेका थिए।
अमेरिकामा जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि उनको प्रशासनसँग काम गर्न सजिलो होस् भनेर साउदी अरबले नै अहिले नाकाबन्दी अन्त्य गर्न चाहेको पनि विश्लेषण गरिएको छ।