उत्तर कोरियाली नेता किम जोङ उनले लगभग सबै क्षेत्रबाट आफ्नो राष्ट्रको आर्थिक विकास गर्ने योजना असफल भएको स्वीकारेका छन्।
मंगलबार भएको सत्तारूढ दल वर्कर्स पार्टीको सम्मेलनमा उनले आर्थिक योजनाहरू असफल रहेको स्वीकारेको उत्तर कोरियाली सञ्चारमाध्यमले नै जनाएका छन्।
किमले पछिल्ला पाँच वर्षलाई राष्ट्रका लागि 'खराब मध्येकै खराब' भएको बताएका हुन्।
'अहिलेका बहु-चुनौतीहरूसँग जुध्ने बलियो र छिटो माध्यम भनेको हाम्रो शक्ति र हाम्रो आफ्नै आत्मनिर्भर क्षमतालाई सम्भव बनाउनु हो,' किमले भनेका थिए।
कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)का अनुसार उक्त भेला पोङयाङमा मंगलबार भएको थियो।
सो भेलाको सार्वजनिक भएका तस्वीरहरूमा ७ हजार जना सहभागी भएको देखिएको थियो। हलहरू भरिएको देखिन्थ्यो भने कसैले पनि मास्क लगाएका थिएनन्।
भेलाको पहिलो दिनमा कामको समीक्षा गर्दै पछिल्लो पाँच वर्षको आर्थिक विकास योजना नराम्रोसँग असफल भएको बताएका थिए।
'हामीले हाम्रो अनुभव, सिकाइ र त्रुटीहरूलाई गहिराइमा विस्तृत विश्लेषण गर्ने सोचेका थियौं,'उनले भने।
केसिएनएका अनुसार सम्मेलन बुधबार पनि जारी हुने छ।
कोरोना भाइरससँग बच्न उत्तर कोरियाले गत जनवरीमा चीनसँगका सीमाहरू बन्द गरेको थियो। चीनसँगको सीमा बन्द गरेपछि व्यापार घटेको हो।
किमले पार्टी कार्यकर्ताको भने प्रशंसा गरेका थिए। महामारीविरूद्ध सुरूदेखि अन्त्यसम्म स्थिर अवस्था बनाउन सकेकोमा उनले प्रशंसा गरेका हुन्।
किमले उत्तर कोरियामा एक जनामा पनि कोरोना संक्रमित नभेटिएको दाबी गर्दै आएको छ। तर सो दाबीलाई प्राय:ले शंका गर्दै आएको छ।
उत्तर कोरियाको अर्थतन्त्रमा कोरोना महामारीसँगै मनसुनमा आएको पहिरोले पनि असर पारेको अल्जजिराले जनाएको छ।