डेमोक्र्याटिक पार्टी अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि बहुमत नजिक पुगेको छ।
मंगलबार भएको जर्जिया राज्यका दुई सिनेटको पुन: निर्वाचन डेमोक्र्याटिक उम्मेदवार राफायल वार्नक विजयी भएका छन्। जर्जियाबाट सिनेटर निर्वाचित हुने वार्नक काला जातिका पहिलो व्यक्ति हुन्।
उनको यो विजयसँगै सिनेटमा डेमोक्र्याटिक पार्टीका सिनेटरको संख्या ४९ पुगेको छ। जर्जियाकै अर्को सिनेटरमा पनि डेमोक्र्याटिक उम्मेदवार जोन ओसफ जितनजिक छन्।
९८ प्रतिशत मत गणना हुँदा उनी प्रतिष्पर्धी रिपब्लिकन पार्टीका उम्मेदवार डेभिड पेरडेउभन्दा १३ हजार बढी मतले अघि छन्।
ओसफले पनि जित निकालेमा डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेनले आफ्ना नीति र कार्यक्रम रिपब्लिकनको सहायताबिनै लागू गर्न सक्नेछन्।
सिनेटमा दुबै पक्षको ५०-५० संख्या भएमा उपराष्ट्रपतिले निर्णायक मतदान गर्न पाउने व्यवस्था छ। उपराष्ट्रपति सिनेटको सभापतिको भूमिका हुन्छन्।
कुनै प्रस्तावमा बराबर मत आएको अवस्थामा उपराष्ट्रपति कमला ह्यारिसले बाइडेन प्रशासनको प्रस्तावका पक्षमा मतदान गरेर सदनबाट पास गराउन सक्छन्।
गत नोभेम्बरमा भएको चुनावमा कुनै पनि पार्टीका उम्मेद्वार ५० प्रतिशत मत ल्याउन नसकेपछि जर्जियामा मंगलबार फेरि चुनाव भएको हो। जर्जियाको कानुनअनुसार सिनेटर निर्वाचित हुन खसेको मतको ५० प्रतिशत कटाउनै पर्छ।
रिपब्लिन पार्टीका दुबै उम्मेदवार बहालावाल सिनेटर हुन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएर आफूले हारेको बताउँदै आएका छन्।
दक्षिणी राज्य जर्जियामा सन् १९९२ पछि पहिलो पटक डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेदवारले जितेका हुन्।
बाइडेनले जनवरी २० मा राष्ट्रपतिको पद सम्हाल्दै छन्। जलवायू परिवर्तन, आप्रवासी आगमन र पूर्वाधार निर्माणमा बाइडेनले ट्रम्प प्रशासनभन्दा फरक तरिकाले काम गर्ने बताएका छन्।
उनले जलवायू परिवर्तनको असर वास्तविक भएको र अमेरिकी आप्रवासीका लागि खुला हुनुपर्ने आवाज उठाउँदै आएका छन्।
तल्लो सदनमा डेमोक्र्याटिक पार्टीले नोभेम्बरको चुनावबाट यसअघिको बहुमतलाई कायम राखेको थियो। यद्यपी उसको सिट भने अघिल्लो पटकभन्दा यसपालि घटेको छ।