नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब लोकतन्त्र जोगाउन नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको बताएका छन्।
शनिबार दाङको घोराहीमा प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले लोकतन्त्र रक्षाको लागि लामो समयदेखि संघर्षरत नेपाली कांग्रेस अब फेरि लोकतन्त्र जोगाउने जिम्मेवारीमा अग्रसर हुने आशा व्यक्त गरे।
‘लोकतन्त्र जोगाउने जिम्मेवारी फेरि पनि कांग्रेस र हाम्रो काँधमा आएको छ ,’ नेपालले भने, ‘त्यसका लागि कांग्रेससँग कुरा भइसकेको छ र अन्य दलसँग पनि संयुक्त आन्दोलनको लागि वार्ताको तयारी भइरहेको छ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि सकारात्मक माहोल बनेको भन्दै नेकपा अध्यक्ष नेपाललले प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध संयुक्त रुपमा मिलेर आन्दोलन गर्ने वातावरण निर्माण हुन थालेको बताए।
उनले कांग्रेस सभापति देउवासँगको भेटपछि आन्दोलन बारे कांग्रेस सकारात्मक रहेको दाबी गरे ।
त्यस्तै उनले नेता बामदेव गौतमले पार्टी एकताका लागि गर्ने भनेको प्रयास सम्भव नरहेको ठोकुवा गरे। ‘उहाँले नेकपा एकताको लागि गर्ने प्रयास भनेको असम्भव कुरा हो,’ उनले भने, ‘त्यो भनेको बालुवाबाट तेल निकाल्न खोज्नुभन्दा अर्कौ हुने छैन।’ नेपालले अब फेरि केपी ओलीसँग एकता सम्भव नरहेको स्पष्ट पारे।
त्यस्तै अध्यक्ष नेपालले पुष्पकमल दाहाल प्रचण्डलाई इमान्दार र बफादार नेताको संज्ञा दिए।
प्रधानमन्त्री ओलीकै कारण पार्टी विभाजन भएको भन्दै उनले ओली बिध्वंसको अर्कौ रूप भएको दोषारोपण गरे। ‘नेपाली शब्दकोषमा भेटिने जति पनि तुच्छ शब्दहरू छन्, ती सबै ओलीका लागि प्रयोग गर्दा फरक पर्दैन,’ उनले भने।
केपीको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै आन्दोलनबाट त्यो करेक्सन गर्ने दाबी गरे।
तुलसीपुरमा प्रतिनिधिसभा विघटन विरूद्ध प्रचण्ड– नेपाल समूहको नेकपा दाङले आयोजना गरेको कार्यकर्ता प्रशीक्षण कार्यक्रमलाई सम्वोधन गर्न अध्यक्ष नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य तथा पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्व मन्त्री तथा स्थायी कमिटी सदस्य वर्षमान पुन, स्थायी कमिटी सदस्य युवराज ज्ञवाली लगायतका नेताहरू शुक्रबार दाङ आएका थिए ।