अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहानै अन्तिम पटक ह्वाइटहाउस छोडे। आफ्ना उत्तराधिकारीको सपथ ग्रहणमा सहभागी हुने र उनलाई राष्ट्रपति भवन ह्वाइटहाउसमा स्वागत गर्ने प्रचलन तोडेर उनी बाइडेनको सपथ हुनुअघि नै वासिङ्टन डिसीबाट बाहिरिएका हुन्।
बुधबार दिउँसो बाइडेन जब क्यापिटल हिलमा सपथ लिएर कार्यभार सम्हाल्न ह्वाइटहाउस पुगे। त्यहाँ उनले ट्रम्पको स्वागत त पाएनन् तर एउटा चिठी भने भेटाए।
कार्यभार सम्हालिसकेपछि बाइडेनले ट्रम्पको चिठीबारे संवाददाताहरूलाई जानकारी दिएका थिए। बाइडेनले उक्त चिठी निकै 'दयालु' भएको बताए पनि त्यसमा के लेखिएको छ भन्ने कुरा ट्रम्पसँग कुरा नगरी सार्वजनिक नगर्ने बताए।
आफ्ना उत्तराधिकारीलाई ह्वाइटहाउसमा एउटा चिठी छोडेर जाने आधुनिक अमेरिकी राष्ट्रपतिको परम्पराजस्तै हो।
यसअघि बाराक ओबामाले पनि ट्रम्पलाई एउटा चिठी छोडेर गएका थिए। चिठी पढ्नासाथ ट्रम्पले ओबामासँग कुरा गर्न टेलिफोन गरेका थिए। जहाजमा भएकाले ओबामाले उनको फोन उठाउन पाएनन्। पछि उनका सहयोगीले कल ब्याक गर्दा ट्रम्पले चिठीका लागि ओबामालाई धन्यवाद दिएका थिए।
ट्रम्पले मंगलबार राति बाइडेनका लागि चिठी लेखेको बताइएको छ। उक्त चिठीमा के-के छ भन्ने कुरा उनले आफ्ना निकट सहयोगीलाई पनि बताएका छैनन्।
ट्रम्पसँग कुरा भएपछि बाइडेनले उक्त चिठी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
ट्रम्पले ह्वाइट हाउस छोड्दा पनि बाइडेनको नाम लिएका छैनन्। उनले आफ्नो विदाइ सन्देशमा भने नयाँ प्रशासनलाई सफलताको शुभकामना व्यक्त गरेका छन्।