सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्।
गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि बुधबार ह्वाइटहाउस छोडेका हुन्।
यसअघि चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले आफ्ना समर्थकलाई संसद भवनमा हिंसा भड्काउन उक्साएका थिए। उनका समर्थकहरूलाई पनि ट्रम्पले सत्ता छोड्दैनन् भन्ने लागेको थियो। तर बुधबार उनी ह्वाइटहाउसबाट सामान्य तरिकाले बाहिरिएपछि उनका केही समर्थक निराश भएका हुन्। अहिले उनीहरू ट्रम्पले आफ्नो राष्ट्रभक्तिको दायित्व पूरा नगरेको भन्दै उनलाई गिजाइरहेका छन्।
गत वर्षको चुनावपछि दक्षिणपन्थी समूह 'प्राउड ब्वाइज'ले ट्रम्पका लागि जिलोज्यान दिन तयार भएको बताएको थियो।
टेलिग्राम एपमा पठाएको सन्देशमा समूहका सदस्यहरूले ट्रम्पलाई जोगाउन प्रदर्शनमा उत्रिन आह्वान गरेका थिए।
यो साता भने यो समूहको ट्रम्पको प्रतिको धारणा ठ्याक्कै उल्टो भयो। टेलिग्राममै 'प्राउड ब्वाइज'का सदस्यहरूले गत सोमबार लेखे - ट्रम्प पूर्ण असफल भएर निस्कने छन्।
अहिले उनीहरू ट्रम्पलाई निकै कमजोर व्यक्ति भनिरहेका छन्। उनीहरूले सदस्यहरूलाई ट्रम्पमा र्यालीमा सहभागी नहुन पनि आग्रह गरेका छन्।
'प्राउड ब्वाइज'का सदस्यहरू लामो समयदेखि ट्रम्पको समर्थन गर्थे। उनीहरू ट्रम्पका र्यालीमा मिलिसियाको जस्तै काम गर्थे।
जनवरी ६ मा संसदमा भएको हिंसामा पनि उनीहरू सहभागी भएका थिए। ट्रम्पले पछि उक्त हिंसाको आलोचना गरेकाले उनीहरू असन्तुष्ट बनेका हुन्।
उक्त घटनापछि उनीहरूले ट्रम्पलाई धोकेबाज ठानेका हुन्। संसद हिंसामा संलग्न भएको पक्राउ परेकाहरूलाई छुटाउन ट्रम्पले केही नगरेपछि उनीहरूको आक्रोश झन् चुलिएको हो।
ट्रम्पबाट आशा मरेपछि उनीहरू अहिले राष्ट्रपति जो बाइडेनको समर्थन गर्न थालेका छन्।