ताइवानले थुप्रै चिनियाँ लडाकु जहाज आफ्नो आकाशमा प्रवेश गरेको बताएको छ।
ताइवानको रक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चीनले शनिबार ताइवानको दक्षिण-पश्चिमी आकाशमा ८ वटा बम खसाल्ने जहाज र ४ वटा लडाकु जेट पठाएको थियो। चिनियाँ जहाजले एयर स्पेसमा अतिक्रमण गरेपछि ताइवानले तिनको निगरानी गर्न मिसाइल पठाएको उल्लेख गरेको छ।
ताइवानलाई आफ्नो अभिन्न अंग दाबी गर्ने चीनले उक्त क्षेत्रमा दैनिक अभ्यास गर्ने भए पनि एकैपटक यति धेरै जहाज ताइवानी आकाशमा जानुलाई असामान्य रूपमा हेरिएको छ।
शनिबार चीनले ८ वटा एच-६के बम्बर र ४ वटा जे-१६ लडाकु जेट ताइवानको आकाशमा पठाएको थियो।
यसैबीच अमेरिकाले चीनलाई ताइवानमाथि दबाब दिन रोक्न भनेको छ। अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै ताइवानमाथि सैन्य, कूटनीतिक र आर्थिक दबाब दिन रोकेर प्रजातान्त्रिक प्रक्रियाबाट चुनिएका प्रतिनिधिहरूसँग अर्थपूर्ण वार्तालाई जारी राख्न भनेको छ।
'हामी ताइवानलाई आत्मरक्षाका लागि सक्षम बनाउन सहयोग जारी राख्ने छौं,' विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यस विषयमा बेइजिङले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यसअघि चीनले देशको सार्वभौमसत्ता रक्षाको लागि सैन्य अभ्यास गरिएको बताउँदै आएको छ।