दाङमा एक प्रधानाध्यपकले वडाध्यक्षलाई कार्यालयमै गएर ज्यान लिने धम्की दिएका छन्।
जिल्लाको राजपुर गाउँपालिका-७ का वडाध्यक्ष भीमबहादुर खड्कालाई सोही वडाको मावी सिक्टामा कार्यरत प्रधानाध्यापक विष्णु खत्रीले माघ ७ गते दिउँसो वडा कार्यालयमै पुगेर ज्यान लिने धम्की दिएको वडाध्यक्षले खड्काले सेतोपाटीलाई जानकारी दिए।
प्रधानाध्यापक खत्रीले वडा कार्यालयमै आएर ‘सिध्याइदिने’ धम्की दिएपछि वडाध्यक्षले सुरक्षाको माग गर्दै प्रशासन गुहारेका हुन्।
घटनाको दोस्रो दिन माघ ८ गते आफूले वडाकै बरूवा प्रहरी चौकीमा गएर सुरक्षाको माग गर्दै निवेदन दिएको वडाध्यक्ष खड्काले सेतोपाटीलाई जानकारी दिए। ‘म ७० वर्षे बुढो मानिसलाई प्रधानाध्यापक खत्रीले वडा कार्यालयमै आएर सबैका सामुन्ने ज्यान लिने धम्की दिनुभयो,’ वडाध्यक्ष खड्काले भने, ‘उहाँले यसअघि पनि मलाई एक दुई पटक सार्वजनिक रूपमै त्यस्तै धम्की दिइसक्नुभएको छ।’
वडाध्यक्ष खड्काका अनुसार कार्यालयमा आएर प्रधानाध्यापक खत्रीले उक्त दिन राजनीतिक कुरा गर्न थालेपछि आफूले शिक्षक भएर वडा कार्यालयमा आइ राजनीतिक बहस नगर्न सुझाव दिँदा धम्की दिएर गएको बताए।
‘राम्रोसँग साँझ खाना खाएर सुत्नू, राति म चिसो ठाउँमा पुर्याइदिनसक्छु,’ प्रधानाध्याकको भनाई उद्धृत गर्दै वडाध्यक्षले सेतोपाटीसँग भने, ‘उहाँले मलाई राति आएर मान्छे लगाएर बेपत्ता पारि ज्यान लिने धम्किसमेत दिएर जानुभएको हो।’
प्रहरीसमक्ष वडाध्यक्ष खड्काले दिएको जाहेरीमासमेत उनले सोही कुरा उल्लेख गरेका छन्। जाहेरीमा उनले सिफारिस लिन आएका प्रधानाध्यापक खत्रीलाई वडा कार्यालयले सिफारिस दिइसकेपछि घर नगई वडा कार्यालयमै बसेर विभिन गालीगलौज गर्दै धम्की दिएको उल्लेख गरेका छन्।
‘म को हुँ चिन्छस्? अब आजदेखि केही दिन भित्रै तलाई सिध्याईदिन्छु। राम्रोसँग खाना खाएर बसेस्,’ खड्काको जाहेरीमा उल्लेख छ।
जाहेरीमा वडाध्यक्ष खड्काले कार्यालय सहयोगी धना खत्री, अहेब टीका वली, पशु चिकित्सक शेरबहादुर बस्नेत र वडासचिव लगायत अन्य थप एक दुई जना व्यक्तिका सामुन्ने प्रधानाध्यापक खत्रीले आफूलाई धम्की दिएको निवेदनमा उल्लेख गरेका छन्।
हेर्नुहोस् जाहेरी
प्रधानाध्यापक खत्रीले विप्लव माओवादीको नाममा दुई वर्ष यता पटक/पटक चन्दा माग्दै आएको तथा चन्दा नदिए ज्यान लिने सम्मका धम्की दिने गरेको वडाध्यक्ष खड्काले आरोप लगाएका छन्।
‘मलाई धेरै पटक विप्लवका नाममा चन्दा मागेर सताउने काम भयो र त्यो सबै कामको अगुवाई उनैले गर्दारहेछन्,’ वडाध्यक्ष खड्काले भने, ‘केही समय पहिले खत्री सत्तारूढ दल नेकपामा प्रवेश गरेपछि चन्दा माग्ने क्रम अलि रोकिएको छ।’
वडाध्यक्षले प्रहरीमा दिएको निवेदनअनुसार गत मंसिरमा पनि मावी सेन्टर सिक्टाको बैठकमा प्रधानाध्यापक खत्रीले आफूलाई धम्की दिएको उल्लेख गरेका छन्।
‘विद्यालयको बैठकमा सहभागि म लगाएत अन्य ४ जना स्थानीय महिलालाई प्रधानाध्यापक खत्रीले विप्लवलाई चिन्छौं? राति घरमा २/४ जना पठाएर तिमीहरूलाई मार्छु भन्दै धम्क्याउँदै आएका छन्,’ वडाध्यक्ष खड्काले जाहेरीमा उल्लेख गरेका छन् ।
वडाध्यक्षले खड्काले तीन दिनअघि आफूले बरूवा थानामा गएर तीन दिन अगाडि धम्की दिने प्रधानाध्यापकविरूद्ध जाहेरी दिएको र त्यसबारे हालसम्म प्रहरी प्रशासनबाट कुनै खबर नआएको बताए।
आफू बुढो मानिस भएकाले घोराही जान नसकेर नजिकैको थानामा जाहेरी दिएको उनले बताए। त्योबाहेक आफूले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख कसैलाई पनि फोन सम्पर्क नगरेको र थानाले नै माथि जिल्लासम्म त्यो निवेदन पठाइदिन्छ भन्ने आशा गरेको बताए। राजपुर जिल्लाको सबैभन्दा विकट र भारतसँग सीमा जोडिएको स्थान हो।
उल्टै वडाध्यक्षले ममाथि गाली बेइजती गर्नुभएको हो-प्रधानाध्यापक खत्री
राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर खड्काको अभियोगमा सत्यता नभएको मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्रीले सेतोपाटीलाई जानकारी दिए।
‘मैले किन उहाँलाई ज्यानको धम्की दिनू,’ प्रअ खत्रीले भने, ‘बरू उल्टै उहाँले मलाई वडा कार्यालय भित्रै गाली बेइज्जती र दुर्व्यवहार गर्नुभएको हो।’
३७ वर्षीय प्रधानाध्यापक खत्रीका अनुसार माघ ७ गते दिउँसो साढे १ बजेतिर विद्यार्थी कमल वलीको सर्टिफिकेटमा नाम बिग्रेर कमलबहादुर वली भएकोमा त्यसैको सिफारिस लिन जाँदा उल्टै वडाध्यक्षले आफूमाथि गाली बेइजती गरेको आरोप लगाए। ‘हाम्रो विद्यार्थी वलीको नागरिकतामा एउटा र सर्टिफिकेटमा अर्कै नाम भएपछि मैले विद्यार्थीका बुवालाई वडा कार्यालय सिफारिस लिन भनेर पठाएको थिएँ। तर, वडाध्यक्षले उहाँलाई हप्काएर पठाउनु भएछ। त्यो कुरा मलाई अर्का अभिभावक हर्क अधिकारीले फोनमार्फत भन्नुभयो,’ प्रअ खत्रीले सेतोपाटीसँग भने, ‘म उक्त दिन कक्षा ९ र १० का विद्यार्थीका लागि रजिष्ट्रेसन फर्म भर्न व्यस्त थिएँ। आफू बाहिर निस्कदै गर्दा अधिकारी गेटमै आउनुभएको हुँदा म विद्यार्थीको नाम सच्याउने सिफारिस लिन वडा कार्यालय गएको थिएँ।’
आफू वडा कार्यालयमा गएर वडाध्यक्षलाई बुवा भनेर सम्वोधन गरे पनि वडाध्यक्ष एक्कासी गाली गलौजमा उत्रिएको खत्रीले बताए। ‘पहिले पनि म प्रधानाध्यापक हुँदा वडाध्यक्षकै नेतृत्वमा मेरो विद्यालयमा ताला लगाउने काम भएको थियो,’ प्रअ खत्रीले भने, ‘उहाँ त मेरो अभिभावक जस्तै हो र मेरो नाता पनि पर्छ। मैले किन उहाँलाई ज्यान मार्ने धम्की दिनू।’
वडाध्यक्षले आफ्नाविरूद्ध प्रहरीमा जाहेरी दिएको भए अब आफू पनि कानुनी लडाई लड्ने खत्रीले बताए।