कोरोनाभाइरसको उद्गम थलो भए पनि चीनले सन् २०२० मा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याएको छ।
संयुक्त राष्ट्रसंघीय संस्था युएनसिटिएडीले आइतबार सार्वजनिक गरेको रिपोर्टअनुसार चीनमा गत वर्ष १६३ अर्ब अमेरिकी डलर एफडिआई आएको छ। अमेरिकामा भने बाहिरका लगानीकर्ताले १३४ अर्ब डलर लगानी गरेका छन्।
सन् २०१९ मा अमेरिकाले २५१ अर्ब डलर वैदेशिक लगानी भित्र्याएको थियो भने चीनमा १४० अर्ब डलरमात्र आएको थियो।
चिनियाँ अर्थतन्त्रले आर्थिक वर्षको चौंथो त्राइमासमा राम्रो गति समातेको थियो। त्यही प्रगतिका कारण पहिलो त्रैमासमा खुम्चिएको चिनियाँ अर्थतन्त्रले गत वर्ष २.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो।
योसँगै चीन संसारभरि कोरोना महामारी फैलिएका बेला सन् २०२० मा सकारात्मक आर्थिक वृद्धि गर्ने ठूला अर्थतन्त्रमध्ये एकमात्र राष्ट्र बनेको छ।
अमेरिकासँगको व्यापार युद्ध जारी रहेको र सबैभन्दा पहिला कोरोनाभाइरसको महामारी खेपेको चीनले अर्थतन्त्रमा गरेको सुधारले धेरैलाई आश्चार्यमा पारेको छ।
गतवर्ष संसारभरिको एफडिआईमा अघिल्लो वर्षभन्दा ४२ प्रतिशतले कमी आएको छ। सन् २०१९ मा १५ खर्ब डलर वैदेशिक लगानी भएकोमा गत वर्ष झन्डै ८५९ अर्ब डलरमात्र लगानी भएको छ।
सन् २०१९ भन्दा ल्याटिन अमेरिकी र क्यारेबियन मुलुकमा ३७ प्रतिशत, अफ्रिकामा १८ प्रतिशत र एसियाका विकासशील मुलुकमा ४ प्रतिशतले एफडिआई घटेको रिपोर्टमा उल्लेख छ।
पूर्वी एसियाली मुलुकमा सन् २०२० को एक तिहाइ वैदेशिक लगानी गएको छ भने विकसित देशमा अघिल्लो वर्षभन्दा ६९ प्रतिशतले घटेको छ।