एक वर्ष अघिनै निर्माण सम्पन्न भएको दाङको राप्ती पुल उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबिच पनि विकास निर्माण नरोकिएको दाबी गरेका छन्।
उनले कोरोना प्रभाव बिच पनि विकास निर्माणको गति नरोकिएको भन्दै यो पुल एउटा उदाहरण भएको टिप्पणी गरेका छन्।
‘अब मुलुक विकासमा अघि बढिसक्यो। लकडाउन बिच पनि यो पुल हामीले समयमै निर्माण सम्पन्न गर्यौं। नेपालमा विकासको गति नरोकिएको यो पुल एउटा गतिलो उदाहरण हो’, प्रधानमन्त्री ओलीले भने।
यद्यपी प्रधानमान्त्री केपी ओलीले आज उद्घाटन गरेको पुल नेपालमा कोरोना कहर सुरू हुनु अगावै निर्माण सम्पन्न भइसकेको थियो।
कार्यक्रममा उनले पुल निर्माण कम्पनी र केही स्थानीयलाई सम्मानसमेत गरेका थिए।
पुलमा छोटो मन्तब्य राख्ने क्रममा प्रधानमन्त्री ओलीले राप्तीमा तटबन्ध गरी यहाँ विकासका धेरै काम गर्न सकिने भन्दै त्यतातिर अब सरकारको ध्यान जाने बताए।
उनले यहाँ प्रदेशको राजधानी पनि भएकाले मुख्य मन्त्रीले सिग्नेचर पुल बनाउने सोच्नु भएको भन्दै यस्तो पुलको निर्माणले यहाँको विकास निर्माणले फड्को मार्ने बताए।
उनले जस्तो सुकै परिस्थिति आए पनि आफूहरू नरोकिने भन्दै संविधानको रक्षा गर्ने बताए।