प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रलाई ‘स्वर्गको नन्दन बन’ जस्तै सुन्दर बनाउने बताएका छन्।
सोमबार दाङको लालमटियामा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भालुवाङ क्षेत्रलाई मगमग बासना आउने स्वर्गको नन्दन वन जस्तै सुगन्धित बनाउने आश्वासन बाँडेका हुन्।
असोज २० गते लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकालाई जोडेर बनाउने निर्णय बहुमतले पारित भएको थियो। जसको केन्द्र राप्ती गाउँपालिकामा रहने उल्लेख गरिएको छ।
यद्यपी हालसम्म रूपन्देहीबाटै प्रदेश राजधानीको काम हुँदै आएको छ। गुरूयोजना अनुसार भौतिक पूर्वाधार निर्माणका लागि दाङमा सर्भे तथा नाप नक्सांकनको कामबाहेक अन्य देखिने गरि प्रगती भएको छैन।
‘हामीले आफ्नो ठाउँलाई सुन्दर र पर्याप्त आम्दानी दिने ठाउँ बनाउन पर्छ। त्यस्ता ठाउँहरुलाई खेर जान दिनुहुन्न’, प्रधानमन्त्रीले सुझाव दिए।
कार्यक्रमस्थल नजिकै सिसौंका रूख देखाउँदै उनले भनेका थिए, ‘यहाँनेर के को बुटाबुटी हो मलाई थाहाँ छैन। यो बुटाबुटी भएको ठाउँलाई हामी नन्दन वन भन्छन् नि स्वर्गको, हो त्यस्तै बनाउने छौं।’
भालुवाङ क्षेत्रलाई स्वर्गको नन्दन बनाउने कुरा दोहोर्याएका उनले आफैं प्रश्न गर्दै नन्दन वन कस्तो हुनुपर्छ भनेर पनि व्याख्या गरे।
‘त्यहाँ फलफूल लागि राख्या हुन्छ, फूलिराख्या हुन्छ, फलिराख्या हुन्छ । मगमग बासना आइराख्या हुन्छ। चरा भमरा उडिराख्या हुन्छन् । पुतली उडिराख्या हुन्छन्। सबको बासस्थान हुन्छन्, जीवजन्तुहरु प्रसन्न हुन्छन् हावा बासनादार भएर चल्न सक्छ,’ उनले भने।
उनले वनजंगललाई पनि खासखास सालघारी जस्ता वनको सुरक्षा गर्ने र अरू कुकाठका जंगल मासेर फलफूलका जंगलका रुपमा विकास गर्ने योजना रहेको बताए।
उनले आरक्ष, निकुञ्ज क्षेत्रबाहेक अन्य कुकाठ भएका वनजंगल मासेर फलफूल लगाउन सके ठूलो आम्दानी गर्न सकिने दाबी गरे। त्यसरी गरिने फलफूल खेतीले आर्थिक लाभ हुनुको साथै सौन्दर्य विकास हुने र मानिसको स्वास्थ्य पनि राम्रो हुने उनले अर्थ्र्याए।
उनले हालको पुरानो भालुवाङलाई आधुनिक र सुविधा सम्पन्न सहरको रूपमा विकास गरिने बताए। उनले भालुवाङमा व्यवस्थित कार्यालय, रंगशाला, सभाहल निर्माण हुने बताए ।
प्रधानमन्त्री ओलीले अघिल्लो दिनको मन्त्रिपरिषदको बैठकले दाङको घोराहीलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने निर्णय गरिसकेको भन्दै दाङलाई एउटा औद्योगिक क्षेत्रको रुपमा विकास गरिने आश्वासन दिए।
लुम्बिनी प्रदेशको राजधानी जोड्ने राप्ती पुलमा एउटा सिग्नेचर पुल निर्माण गर्न लागिएको भन्दै उनले दाङले विकासको बाटोमा तीब्र अगाडि बढ्ने आधार तय गरेको दाबी गरे ।
हुलाकी राजमार्ग, पुष्पलाल राजमार्ग, मदन भण्डारी राजमार्ग निर्माण भइरहेको उनले बताए। त्यस्तै उनले सञ्चारको क्षेत्रमा अप्टिकल फाइबर बिच्छाएर देशभर इन्टरनेट पुर्याउने काममा तीब्रताका साथ लागेको जोड दिए। ‘अब हाम्रा बालबालिका स्लेट पाटीमा होइन ल्यापटपमा पढ्न थाल्याछन्,’ उनले सतप्रतिशत बालबालिका विद्यालय जाने र विद्यालय नछोड्ने वातावरण निर्माण गरेको दाबी गरे।
उनले कुनै पनि उद्योगलाई मैले बिजुली पाइनँ भन्ने अवस्था नरहेको जिकिर गरे। खानेपानी र सिंचाईको क्षेत्रमा ठूला-ठूला काम भइरहेको उनले जानकारी दिए।
‘आज सडकमा देशभरी कही पनि सडक बालबालिका छैनन्। सडकमा अलपत्र परेका मान्छे छैनन्,’ ओलीले भने, ‘हुन दिइने छैन। हामीले खोज्न टोली समेत पठाएका छौं।’
उनले अभिभावकबिहिन बालबालिका र बेसाहारा जेष्ठ नागरिक नरहने भन्दै यो सरकारले सबैको जिम्मा लिने बताए। ‘यस देशमा अब कोही भोकै पर्दैन, कोही भोकै मर्दैन।’