रूसी प्रहरीले राष्ट्रपति भ्लादमिर पुटिनका आलोचक अलेक्सी नाभाल्नीको घर र कार्यालयमा छापा हानेको छ।
केही दिनअघि हिरासतमा लिइएका नाभाल्नीको रिहाइका लागि देशभित्र र अन्तर्राष्ट्रिय समुदायबाट आइरहेको निरन्तर दबाबबीच रूसी प्रहरीले बुधबार मस्कोस्थित उनको अपार्टमेन्ट र एन्टी-करप्सन फाउन्डेसनको कार्यालयमा छापा हानेको हो।
नाभाल्नीका समर्थकले गत साता उनको रिहाइका लागि गरेको प्रदर्शनका क्रममा कोरोनाभाइरसविरूद्धका स्वास्थ्य मापदण्ड उल्लंघन गरेकाले सोधपुछ गर्न छापा हानिएको बताइएको छ।
रूसी सञ्चारमाध्यमहरूका अनुसार प्रहरीले नाभाल्नीका भाइ ओलेगलाई पक्राउ गरेको छ। यसअघि पनि साढे ३ वर्ष जेलमा बिताएका ओलेगलाई किन पक्राउ गरिएको हो भन्ने खुलाइएको छैन।
प्रहरीले एन्टी-करप्सन फाउन्डेसनको कार्यालयमा पनि खोजतलास गरेको छ। नाभाल्नीले खोलेको यो फाउन्डेसनले केही समयअघि राष्ट्रपति पुटिनका लागि १ अर्ब पाउन्ड खर्चेर बनाइएको भनिएको दरबारबारे अनुसन्धान गरेको थियो।
बुधबारको छापापछि क्रेमलिनले पुटिनका खरो आलोचक नाभाल्नीलाई अर्को दशकभरि जेलमै राख्ने योजना बनाएको देखिन्छ।
नाभाल्नीका समर्थकले आइतबार फेरि उनको रिहाइका लागि प्रदर्शन गर्ने तयारी गरेका छन्।
पाँच महिनापछि स्वदेश फर्किएका नाभाल्नीलाई १० दिनअघि विमानस्थलबाटै पक्राउ गरिएको थियो।
नाभाल्नीलाई केही महिनाअघि जहाजमा हुँदा विष खुवाइएको थियो। कोमामा पुगेका उनलाई उपचारका लागि जर्मनी लगिएको थियो। निको भएपछि उनी पत्नी र अन्य सहयोगीहरूसँग स्वदेश फर्किएका थिए।
नाभाल्नी रूसी राष्ट्रपति भ्लादिमर पुटिनका खरो आलोचक हुन्। पुटिन शासनमा भएका भ्रष्टाचारबारे उनले थालेको अनुसन्धानले रूसभरि पुटिनविरूद्ध आक्रोश जन्माएको छ। स्वेदश फर्किए क्रेमलिनले उनलाई पक्राउ गर्ने तयारी गरेको छ भन्ने थाहा पाएरै उनी रूस पुगेका थिए।
उनलाई पक्राउ गर्न रूसी अधिकारीहरूले जहाज नै डाइभर्ट गर्न लगाएका थिए। सुरूमा उनी चढेको जहाज मस्कोको भिनुकोभो विमानस्थलमा अवतरण हुने तय थियो। नाभाल्नीलाई स्वागत गर्न विमानस्थलमा उनका समर्थकको भीड लागेको थियो।
अन्तिम समयमा पाइलटले प्राविधिक समस्याका कारण पूर्वनिर्धारित विमानस्थलमा अवतरण गर्न नसक्ने बताए र जहाज डाइभर्ट गरे।
नाभाल्नी पक्राउको विरोध गर्दै अमेरिका र युरोपियन युनियनका मुलुकले उनको तत्काल रिहाइका लागि माग गरेका छन्।