म्यानमारको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीले नेतृ आङ सान सुकीको प्रतिनिधित्व गर्दै सैनिक कूविरूद्ध प्रदर्शन गर्न आग्रह गरेको छ।
सोमबार पार्टीको आधिकारिक फेसबुक पेजबाट विज्ञप्ति जारी गर्दै मानिसहरूले सैनिक कूलाई स्वीकार्न नहुने र त्यसविरूद्ध लाग्न पर्ने बताएको छ।
पार्टीले विज्ञप्ति जारी गरिएको फेसबुक पेज चुनाव अभियानका लागि प्रयोग भएको रोयटर्सले जनाएको छ।
सोमबार बिहान सेनाले सुकीलाई नियन्त्रणमा लिएदेखि सार्वजनिक रूपमा देखा परेका छैनन्।
'सेनाको कार्यहरू देशलाई पुन: तानाशाहीको अधीनमा राख्ने कार्य हो,' विज्ञप्तिमा भनिएको छ। रोयटर्सका अनुसार सो विज्ञप्तिमा सुकीको नाम लेखिए पनि हस्ताक्षर भने थिएन।
'म मानिसहरूलाई यसलाई नस्वीकार्न, प्रतिक्रिया दिन र सैनिक कूविरूद्ध हृदयदेखि विरोध प्रदर्शन गर्न आग्रह गर्दछु,' विज्ञप्तिमा उल्लेख छ।
उक्त विज्ञप्ति पार्टीका अध्यक्ष विन ह्टेइनले जारी गरेका थिए। उनले विज्ञप्तिको अन्तिममा हातले लेखिएको नोटबाट सुकीको चाहानाको आधिकारिकता प्रष्ट्याएका थिए।
'म मेरो कसम खाएर भन्छु कि, आङ सान सुकीले मानिसहरूलाई गरेको आग्रह वास्तविक हो,' विन ह्टेइनले भने। रोयटर्सले उनलाई सम्पर्क गर्न खोजेको थियो। तर सम्पर्क हुन सकेन।
सोमबार बिहान म्यानमारको सेनाले स्टेट काउन्सिलर समेत रहेकी नेतृ सुकी, राष्ट्रपति विन मिन्ट लगायत नेताहरूलाई नियन्त्रणमा लिएको थियो। अब म्यानमारको शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको बताइएको छ।
सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ। गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ।