लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै ज्वाइँलाई जिल्लास्थित भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष नियुक्त गरेका छन्।
माघ १५ गतेको मन्त्रिपरिषदबाट मुख्यमन्त्री पोखरेलले ज्वाइँ शिवकुमार आचार्यलाई आयोगको दाङ जिल्ला अध्यक्ष नियुक्त गरेका हुन्।
सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन भन्दै पछिल्लो समय धमाधम जिल्ला समिति गठन गरिरहेको छ।
केन्द्रमा भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष देवी ज्ञवाली छन्। ज्ञवाली प्रधानमन्त्री केपी ओली निकट मानिन्छन्।
यो भन्दापहिले मुख्यमन्त्री पोखरेलले आफ्नी बहिनी मेनका पोखरेललाई लुम्बिनी प्रदेशको प्रदेश विकास परिषद आयोग सदस्यमा मनोनित गरेका थिए।
बहिनी मेनका र ज्वाइँ शिवकुमार आचार्यलाई लाभको पद दिएको आरोप लगाउनु गलत बुझाइ भएको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले बताए।
‘शिवकुमार आचार्यजी दाङ आन्दोलनको धरोहर हो, विद्यार्थी कालदेखि नै उहाँहरू राजनीतिमा लाग्नुभएको हो,’ केसीले भने, ‘उहाँको राजनीतिमा अतुलनीय योगदान छ। के उहाँलाई ज्वाइँ भएकै कारण सधैंभरि अन्याय भइरहनु पर्ने हो?’
प्रेस सल्लाहाकार केसीले मुख्यमन्त्री पोखरेलसँगको नाताभन्दा ठूलो योगदान पार्टीमा रहेको जिकिर गरे।
मुख्यमन्त्रीका ज्वाइँ आचार्य आयोगमा नियुक्त गरिएपछि सामाजिक सञ्जालमा स्ट्याटस लेखेर तत्कालीन नेकपा एमाले दाङका अध्यक्ष ( हाल प्रचण्ड-माधव समूहमा आबद्ध) जोगबहादुर रानाले बिरोध जनाएका छन्।
उनले लेखेका छन्, ‘देख्यौ त तागत! आफू मुख्यमन्त्री, श्रीमती सांसद, दाइ उपमहानगरको अध्यक्ष, बहिनीलाई हालै नेकपाको केन्द्रीय सदस्य, ज्वाइँलाई भूमि तथा सुकुम्बासी दाङको अध्यक्ष! गणतन्त्र कसलाई आएको रहेछ?’
नेता रानाले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर मुख्यमन्त्री पोखरेलले भूमि तथा सकुम्बासी आयोग दाङको अध्यक्षमा आफ्नै ज्वाइँलाई किन बनाए? भनेर प्रश्न पनि सोधेका छन्।
जसमा उनले दर्जनजति नेताहरूको नाम उल्लेख गर्दै उनीहरू भन्दा मुख्यमन्त्रीका बहिनी ज्वाइँ शिवकुमारको पार्टीमा योगदान नरहेको जिकिर गरेका छन्।
‘हामी त पार्टीको नातालाई नै आफ्नै नाता भन्छौ। हाम्रो पार्टी नाता हुँदाहुँदै कुनै अवसर पाउनलाई शंकरकै ज्वाइँ हुनुपर्ने? भान्जा हुनुपर्ने? समानुपातिकको नाममा शकंरजीको आफ्नै नाताको हुनुपर्ने?,’ नेता रानाले लेखेका छन्, ‘हो हामी जबसम्म यस्ता जडसुत्रवादीबाट मुक्त हुँदैनौं, यस्ता जडसुत्रवादीको बिरोध गर्दैनौं, हामी नेताको कामदार र खेतला भइरहन्छौं।’
बहिनी मेनका अहिले नेकपा ओली समूहको केन्द्रीय सदस्यसमेत बनाइएकी छन्।
तत्कालीन माओवादीसँग नेकपा एमालेको पार्टी एकतापछि शिवकुमारलाई जिल्ला अध्यक्ष बनाउनका लागि नाम केन्द्रमा सिफारिस गरेपछि पार्टीमा व्यापक बिरोध भएको थियो ।
जतिबेला नेकपा प्रदेश इञ्चार्जमा मुख्यमन्त्री पोखरेल स्वयम् आफैं थिए। पछि त्यो विवाद केन्द्रले मिलाएपछि टीकाराम खड्का जिल्ला अध्यक्ष बनाइएका थिए।
मुख्यमन्त्रीका सहोदर दाजु देवी पोखरेल सत्तारुढ दल नेकपाको घोराही उपमहानगरको इन्चार्ज बनाइएका थिए।
मुख्यमन्त्री पोखरेलकी श्रीमती सुजिता शाक्य जनजाति कोटाबाट समानुपातिक सांसद छिन्।
प्रेस सल्लाहकार केसीले मुख्यमन्त्रीका आफन्त तथा परिवारका सदस्य अरु मानिसहरू जस्तै फ्नै क्षमता र योगदानले गर्दा विभिन्न ठाउँमा पुगेको हुँदा त्यसलाई मुख्यमन्त्रीसँग जोडेर हेर्नु गलत रहेको बताए।
‘नाताभन्दा ठूलो उहाँहरूको मेहनत र योगदान छ,’ उनले भने, ‘त्यो बुझेर बुझ पचाउनेहरूको पछाडि लागेर साध्य छैन।’