रूसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई साढे तीन वर्ष जेल सजाय सुनाइएको छ। राष्ट्रपति भ्लादमिर पुटिनका कडा आलोचक तथा भ्रष्टाचारविरोधी अभियन्ता नाभाल्नीलाई मस्कोको एक अदालतले मंगलबार साढे तीन वर्षको जेल सजाय सुनाएको हो।
उनलाई घरमै नजरबन्दमा राखिएको हुँदा दुई वर्ष आठ महिनामात्रै जेलमा राखिने उनका वकिलले बताए। त्यसको लागि अदालतमा पुनरावेदन गर्ने वकिलले बताए।
नाभाल्नीलाई जेल सजाय सुनाएपछि उनको रिहाइको माग राख्दै रूसका नागरिकहरूले देशव्यापी रूपमा प्रदर्शन गरेका छन्। नाभाल्नीको मुद्दाले पश्चिमी मुलुकहरूसँग रूसको सम्बन्ध थप तनावपूर्ण बनाएको छ। अमेरिकालगायत मुलुकले नाभाल्नीको विषयलाई लिएर रूसमाथि थप प्रतिबन्ध लगाउने विचार गर्दैछन्।
अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिकेनले रूसलाई उत्तरदायी बनाउन अन्य राष्ट्रहरूसँग नजिकबाट समन्वय गर्ने बताएका छन्।
क्रेमलिनले नाल्भाल्नी अमेरिकी गुप्तचर निकाय सिआइएको एजेन्ट भएको आरोप लगाउँदै आएको छ।
केही महिनाअघि सैनिक एजेन्टहरूले नाभाल्नीको अन्डरवेयरमा विष राखिदिएपछि उनी बिरामी परेका थिए। पछि उनलाई उपचारका लागि जर्मनी लगिएको थियो।
नाल्भाल्नीले आफ्नो अन्डरवेयरमा राष्ट्रपति पुटिनका एजेन्टहरूले विष राखेको आरोप लगाएका छन्।
मंगलबारको सुनुवाइमा क्रममा पनि उनले यही कुरा भनेका थिए।
'(पुटिनको) विधि मानिसको हत्या हो। उनले आफू जतिसुकै ठूलो भू-राजनितिज्ञ भएको नाटक गरे पनि इतिहासमा 'पोइजनर' भनेर सम्झने छ। रूसको इतिहासमा मुक्तिदाता एलेक्सजेन्डर, समझदार यारोस्लाभ र अन्डरवेयर पोइजनर पुटिन हुनेछन्,' नाल्भाल्नीले भने।
उनलाई जेल सजाय हुनुअघि नाल्भाल्नीका समर्थकहरू मस्कोमा जम्मा भएका थिए। प्रहरी र प्रदर्शनकारीबिच भिडन्त समेत भएको थियो। त्यसपछि मस्को मेट्रोले तीन केन्द्रीय स्टेसन बन्द गरेको थियो।
प्रदर्शनमा 'पुटिन चोर हुन्' र 'पुटिन पोइजनर हुन्' भन्दै नाराबाजीसमेत भएको थियो।