कू गरेर सत्ता हत्याएको म्यानमारको सेनाले नेतृ आङ सान सुकीमाथि अवैध रूपमा वाकीटकी ल्याएको अभियोगमा अनुसन्धान थालेको छ।
सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका एक जना प्रवक्ताले सुकीमाथि यस्तो आरोप लगाएर अनुसन्धानका लागि फेब्रुअरी १५ सम्म हिरासतमा राख्न अदालतबाट अनुमति लिइएको जानकारी दिएका छन्।
सुकीले म्यानमारको आयात-निर्यात कानुनको उल्लंघन गर्दै विदेशी वाकीटकी घरमा राखेको सेनाको आरोप छ।
निवर्तमान राष्ट्रपति विन मिन्टलाई सेनाले विपद व्यवस्थापन कानुनअन्तर्गत मुद्दा चलाएको छ।
यसैबीच सोमबारदेखि सेनाले नियन्त्रणमा लिएकी सुकीलाई उनकै घरमा राखिएको खुलेको छ। सेनाले सबै सम्पर्कविच्छेद गरेर सुकीलाई घरमा राखेको हो। उनका छिमेकी आज बिहान सुकीलाई घरको आँगनमा हिँडेको देखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।
चीनले रोक्यो राष्ट्र संघीय सुरक्षा परिषद् बैठकको वक्तव्य
चीनले नमानेपछि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले म्यानमारमा भएको सैनिक कूको भत्सर्ना गर्दै निकाल्न लागेको वक्तव्य रोकिएको छ।
बिबिसीका अनुसार मंगलबारको परिषद् बैठकमा स्थायी सदस्य राष्ट्र चीनले यसरी वक्तव्यवाजी गर्दा म्यानमारको अवस्था झन् बिग्रिने भन्दै कूको विरोध गर्न इन्कार गरेको हो। परिषदमा चीनलाई भिटो प्रयोग गर्ने अधिकार छ।
बैठकअघि म्यानमारका लागि राष्ट्र संघकी विशेष प्रतिनिधि क्रिस्ट्रिन च्रानरले गत नोभेम्बरको चुनावी परिणामलाई अस्वीकार गर्दै सत्ता हत्याउने सैनिक कदमको कडा विरोध गरेकी थिइन्।
उनले नोभेम्बरको चुनावको परिणाम आङ सान सुकीको पार्टीको भारी विजय भएको बताएकी थिइन्।
सुरक्षा परिषद बैठकमा बेलायती प्रतिनिधिले वक्तव्यको ड्राफ्ट तयार पारेका थिए। तर चीनले नमानेपछि वक्तव्य जारी नगरीकनै बैठक सकिएको छ।
चीन यसअघि पनि म्यानमारको सेनाका पक्षका उभिँदै आएको छ। मुस्लिम अल्पसंख्यक रोहिंज्या समूदायमाथि भएको दमनको अन्तर्राष्ट्रिय आलोचना हुँदा रूस र चीनले म्यानमारको सरकारलाई साथ दिएका थिए।
सीमा जोडिएको म्यानमारमा चीनको ठूलो लगानी छ। सैनिक कूबाट बेइजिङ खुसी छ कि छैन थाहा छैन तर जुन्ता शासकसँग मिलेर काम गर्नुपर्ने भएकाले उसले नेपिदअलाई चिढ्याउन नखोजेको देखिन्छ।
यसअघि सुकीको पार्टीको सत्ता हुँदा पनि बेइजिङले म्यानमारसँग घनिष्ठ सम्बन्ध राखेको थियो।