भारतको राजधानी नयाँदिल्लीमा जलवायु परिवर्तनसम्बन्धी अभियन्ता १८ वर्षीया ग्रेटा थनबर्गको पुत्ला दहन गरिएको छ।
भारतको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै बिहीबार थनबर्गको पुत्ला जलाइएको हो। यसअघि हिजै दिल्ली प्रहरीले थनबर्गविरूद्ध मुद्दा दर्ता गरेको थियो।
भारतमा जारी किसान आन्दोलनलाई भड्काउने गरी ट्वीट गरेको भन्दै दिल्ली प्रहरीको साइबर सेलले उनीविरूद्ध मुद्दा हालेको हो। ग्रेटाले ट्वीट गर्नुअघि पप गायिका रिहानाले भारतमा जारी किसान आन्दोलनसम्बन्धी समाचार ट्वीट गरेकी थिइन्। उनले उक्त ट्वीटमा यसबारे किन कुरा नगरिएको भन्दै प्रश्न गरेकी थिइन्।
उनको एउटा ट्वीटपछि थनबर्गसहित विभिन्न देशका हस्तीहरूले किसान आन्दोलनको कुरा उठाएका थिए। थनबर्गले आफू भारतमा भइरहेको किसान आन्दोलनको समर्थनमा रहेको बताएकी थिइन्।
'हामी आन्दोलनरत भारतका किसानसँगै छौं,' उनले आफ्नो ट्वीटमा लेखेकी छन्। उनले किसान आन्दोलनलाई कसरी समर्थन गर्नेबारे तरिका पनि बताइएकी थिइन्।
भारत सरकारले भने यसलाई देश विरोधी प्रोपागान्डा भएको बताएको छ। बुधबार विदेशमन्त्री एस जयशंकरले ट्वीट गर्दै भारतलाई निशाना बनाउने अभियान कहिल्यै सफल नहुने बताएका थिए।
उनले सो ट्वीटमा #इन्डिया टुगेदर लेखेका छन्। रिहानाको ट्वीटपछि बलिउडका अभिनेता तथा अभिनेत्रीहरूले उक्त ह्यासट्यगको प्रयोग गरेका थिए।
आफूविरूद्ध मुद्दा दर्ता भएपछि पनि थनबर्गले कुनै हालतमा किसान आन्दोलनको समर्थन गर्न नछाड्ने बताएकी छन्।
उनले बिहीबार ट्वीट गर्दै अहिले पनि किसानहरूको शान्तिपूर्ण आन्दोलनलाई समर्थन रहेको बताएकी हुन्।
मुद्दा दर्ता भएपछि पनि थनबर्गले किसान आन्दोलनको समर्थन गरेपछि भेला भएका केही मानिसहरूले उनको पुत्ला जलाएका हुन्।
भारतमा गत नोभेम्बरदेखि विभिन्न राज्यका किसानहरू कृषि सम्बन्धी नयाँ कानुनको विरोधमा नयाँदिल्लीमा आन्दोलन गरिरहेका छन्।
पछिल्लो समय यो आन्दोलनले अन्तर्राष्ट्रिय चर्चा पाइरहेको छ।