म्यानमार सैनिकले बिहीबारदेखि लागू हुने गरी फेसबुकलगायत सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ।
सरकारलाई ‘कु’ गरी सत्ता हातमा लिएको सेनाले सामाजिक सञ्जालबाट अशान्ति फैलिएको आरोपमा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सेनाले म्यानमारमा एक वर्षसम्म सैनिक शासन लागू हुने घोषणा गरेको छ। त्यसपछि निर्वाचित सरकारलाई शासन हस्तान्तरण गर्ने सेनाको भनाइ छ।
गत सोमबार भएको सैनिक ‘कु’पछि अधिकांश नागरिकले फेसबुककै माध्यमबाट आफ्नो विरोध दर्शाउने गरेका थिए। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार फेब्रुअरी ७ सम्म फेसबुक चलाउन रोक लगाइएको छ। झन्डै साढे ५ करोड जनसंख्यामध्ये आधाले फेसबुक चलाउँछन् भने सैनिक ‘कु’विरुद्ध ऐक्यबद्धता जनाउन फेसबुक पेजै तयार पारिएको थियो।
कुनै महंगो मोबाइल डाटा प्रयोग गर्न नपरोस् भनेर फेसबुकले म्यानमारमा बिनाकुनै अतिरिक्त डाटा शुल्क यसलाई प्रयोग गर्ने अनुमति दिएको छ। फेसबुकले सैन्य शासकद्वारा लगाइएका प्रतिबन्धको पुष्टि गर्दै त्यहाँका अधिकारीहरूलाई सम्पर्क पुनःस्थापना गर्न आग्रह गरेको छ। यसो गरे मात्र म्यानमारका जनताले साथीभाइ र परिवारसँग कुराकानी गर्न र महत्वपूर्ण सूचना पाउन सक्ने फेसबुकले जनाएको छ।
सेनाले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायत शीर्ष नेताहरूलाई नजरबन्द गरी ‘कु’ गरेको थियो। ‘कु’ सँगै इन्टरनेट सेवा, बैंकिङ तथा टेलिफोन सेवा आंशिक बन्द भएको थियो । त्यसयता सैनिक कुको विरोधमा नेतृ सुकीका समर्थकले सामाजिक सञ्जालमार्फत सेनाको कदमको विरोध जनाउँदै आइरहेका थिए। उनीहरूको आवाज दबाउन पनि सेनाले सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएको बुझिएको छ।
गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा आङ साङ सुकीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले अत्यधिक बहुमत प्राप्त गरेको थियो। सैनिक समर्थित पार्टीले थोरै स्थानमा जित हात पारेपछि उनीहरूले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका थिए।
अदालतले रिटमाथि कुनै सुनुवाइ नगरेपछि सेनाले सत्तामा कब्जा जमाएको छ । त्यसयता सर्वसाधारणले विरोध गर्ने प्रमुख माध्यमका रूपमा फेसबुकलाई प्रयोग गर्दै आइरहेका थिए ।