राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजनीतिक स्थिरता र स्थायित्वका लागि मध्यावधि निर्वाचन आवश्यक रहेको बताएका छन्।
आज हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरीमा आयोजित कार्यकर्ता भेलामा उनले सर्वोच्च अदालतबाट आउने फैसलालाई सत्तारूढ दल, नेपाली कांग्रेस र अन्य दलहरूले सर्वमान्यरुपमा स्वीकार गर्नुपर्ने बताए।
उनले स्वाधीनता, सबल तथा समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब सबै राजनीतिक दल उदार एवम् नयाँ ढङ्गले अघि बढ्नुपर्ने र निषेधकोे राजनीति परित्याग गरी पूर्व राजादेखि विप्लवसम्म अट्नसक्ने संसदीय व्यवस्था आवश्यक रहेको बताए।
अध्यक्ष थापाले ‘राष्ट्रमा गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता विदेशीको कार्यसूची भएको विचार राख्दै सो विषयमा नेपालीहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ’ भने।
उनले अपवित्र गठबन्धन बनाएर सरकार बनाउन कांग्रेसलाई जनताको म्यान्डेट नभएको बताए।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यद्वय मधु अधिकारी र राजाराम बर्तौलाले नेपाली जनताको गरिबी उन्मूलन गर्ने विकासको पूर्वाधारलाई आत्मनिर्भर बनाउने अभियानलाई गतिशील तुल्याउनका लागि प्रदेश सरकारको भूमिका सकारात्मक हुनुपर्ने सुझाव दिए।रासस